शान्ता तिम्सिना
तल्लाघरे काइँलीको बानी असाध्यै नराम्रो थियो। मेलापातामा अरुको कुरा नकाटी खाएकै पच्दैनथ्यो। कोही भेटियो कि कसै न कसैको कुरा काटेकै ञा । उनको आनिबानी देखेर कतिपयले त दुरि बनाइसकेका थिए।
उनले कत्ती पनि नरुचाएकी छिमेकीकि छोरी रमिला पल्लो टोलको केटासँग बोलेको हाँसेको देखेर खुब खिल्ली उडाउन भ्याइन् । खै, छोरीहरू त हाम्रा पनि छन् त। अहिलेसम्म कुनै केटाहरूसँग हिमचिम छैन । आफ्नो बाटो हिँडेका छन् । घरमा आएर पनि काममा सघाउँछन् । आफ्नो गृहकार्य गर्छन् । छोरीहरू त हाम्रो जस्तो पो हुनुपर्छ ।
मेलापातमा आएकाहरूले हो मा हो मिलाए। कोदो रोपाईंको मारामार थियो। आज काइँली मौन थिई ।सधैं शुरुमा कुरा निकाल्ने काइँली मौन बसेको देखेर उपल्लाघरे जेठिले कुरा छेडिन् । “होइन काइँली, आज बोलिनस् त ,कि सन्चो भएन ? “
ऊ मौन बसेको देखेर रमिला कि आमाले भनिन् – “कान्छी छोरी उमेर नपुग्दै ठेक्कामा घर बनाउन आएको इन्डियाको मिस्त्रीको हेल्परसँग भारत भागेपछि आफ्नै छोरीका कुरा निकालेर भएन क्यारे जेठी बज्यै!” आज भने साइँलीको घैंटामा घाम लागेको महशुस गरे सबैले।