भोजपुरको पाँच पालिकामा गठबन्धन

everest kitchen

भोजपुर । भोजपुरमा सोमबारबाट स्थानीय तहमा उमेदवारी दर्ता सम्पन्न भएसँगै निर्वाचनको सरगर्मी बढेको छ । यहाँ मुख्यरुपमा नेकपा (एमाले) र सत्तागबन्धनमा रहेका दलबीच प्रतिस्पर्धा हुने भएको छ ।

एमाले भोजपुरका नौ वटै तहमा एक्लै प्रतिस्पर्धा गर्दैछ भने गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल गरेका छन् । पौवादुङमा गाउँपालिका, अरुण, आमचोक र साल्पासिलिछो गाउँपालिकाबाहेक पाँच तहमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)ले साझा उमेदवार उठाएका छन् । जनता समाजवादी पार्टीले भने यसअघि नै गठबन्धन तोडेर एक्लै चुनावमा गएको छ ।

भोजपुर नगरपालिकामा गठबन्धनले कांग्रेसबाट प्रमुखमा कैलाशकुमार आले र उपप्रमुखमा एकीकृत समाजवादीबाट ममिता राईलाई उमेदवार बनाएको छ । यहाँ एमालेले प्रमुखमा भरतकुमार तामाङ र उपप्रमुखमा निर्मला शेर्पालाई अघिसारेको छ ।

षडानन्द नगरमा गठबन्धनले प्रमुखमा कांग्रेसबाट वीरबल राई र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)बाट प्रमिला राईलाई उमेदवार बनाएको छ । यहाँका गठबन्धनका उमेदवारसँग एमालेबाट प्रमुखमा सुरेन्द्र उदास र उपप्रमुखमा मेरिका राई प्रतिस्पर्धामा उत्रिएका छन् ।

गठबन्धनले टेम्केमैयुङमा कांग्रेसबाट अध्यक्षमा सरोज बस्नेतलाई उठाएको छ भने उपाध्यक्षमा एकीकृत समाजवादीबाट इन्द्रवती राईलाई उमेदवार बनाएको छ । यो गाउँपालिकामा एमालेले अध्यक्षमा ध्रुवराज राई र उपाध्यक्षमा रमा राईलाई उमेदवार बनाएको छ । हतुवागढी गाउँपालिकामा पनि कांग्रेसबाट अध्यक्षमा गजेन्द्र कार्की र उपाध्यक्षमा माओवादी केन्द्रबाट सुनिता किराँतीले उमेदवारी दिएका छन् । एमालेबाट भने अध्यक्षमा प्रेमकुमार राई र उपाध्यक्षमा कमला राईले उमेदवारी दिएका छन् ।

रामप्रसादराई गाउँपालिकामा पनि गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ माओवादी केन्द्रबाट अध्यक्षमा निर्माण किराँती र कांग्रेसबाट उपाध्यक्षमा वीरेन्द्र राईले उमेदवारी दिएका छन् । एमालेले अध्यक्षमा बलराम राई र उपाध्यक्षमा कमला राईलाई उम्मेदवार बनाएको छ ।

पौवादुङमा, अरुण र आमचोक, साल्पासिलछोमा भने सबै दलले आ–आफ्नै उमेदवार उठाएका हुन् । पौवादुङमामा एमालेबाट अध्यक्षमा किरण राई र उपाध्यक्षमा ज्योत्सना राईले उम्मेदवारी दिएका छन् । कांग्रेसको तर्फबाट अध्यक्षमा टेकनरसिं कार्की (मनोज) र उपाध्यक्षमा रामकुमारी राईले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रले अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईलाई उम्मेदवार बनाएको छ ।

यस्तै आमचोकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा अशोक राई र उपाध्यक्षमा सीता राईले उम्मेदवारी दिनुभभएको छ । एमालेले अध्यक्षमा वसन्त राई र उपाध्यक्षमा सर्मिला राईलाई प्रतिस्पर्धामा उतारेको छ । कांग्रेसले पनि यहाँ आफ्नै उम्मेदवार उठाएको छ । अरुणमा एमालेबाट अध्यक्षमा नारायण घिमिरे र उपाध्यक्षमा कविता राई उमेदवार बनेका छन् ।

कांग्रेसले अध्यक्षमा शालिकराम खत्री र उपाध्यक्षमा विनिता ढकाललाई अघिसारेको छ । यहाँ माओवादी केन्द्रले एकीकृत समाजवादीसँग मात्र गठबन्धन गरी माओवादीबाट डिल्लीराम अधिकारी अध्यक्षको उमेदवार बनेका छन् भने उपाध्यक्षमा एकीकृत समाजवादीबाट होमबहादुर श्रेष्ठ उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।

साल्पासिलिछोमा भने गठबन्धनमा रहेका दलले आ–आफ्नै तरिकाले चुनावी प्रतिस्पर्धा उत्रेका छन् । यहाँ कांग्रेसले अध्यक्षमा महेश राई र उपाध्यक्षमा अस्मिता राई, लाई उमेदवार बनाएको छ भने माओवादी केन्द्रले उपाध्यक्ष पदमा मात्र जलावती राईलाई उम्मेदवार बनाएको छ । एमालेबाट अध्यक्षमा शान्तिबहादुर अधिकारी र उपाध्यक्षमा रिता घलेको उम्मेदवारी परेको छ । अध्यक्षमा दौलत कुलुङले स्वतन्त्र उमेदवार दिएका छन् ।

भोजपुरमा नयाँ अनुहारभन्दा पनि अधिकांश पुराना जनप्रतिनिधि दोहोरिएका छन् । स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि वडा सदस्यसमेतमा अधिकांश अनुहार पुरानानै देखिएका छन् ।

विभिन्न दलरुबाट यहाँका दुई स्थानीय तहमा प्रमुख र तीन स्थानीय तहमा मात्र उपप्रमुखमा नयाँ उम्मेदवार आएका छन् । एमाले तीन ओटा स्थानीय तह बाहेक अन्यमा स्थानीय तहमा नयाँ उमेदवार उठाएको छ । उपप्रमुखमा एउटा स्थानीय तह बाहेक अन्य नयाँ अनुहार रहेका छन् ।