त्रिवेणी काङ्ग्रेस उम्मेदवारलाई घर्तीको प्रश्न: विव्यस चलाउन नसक्नेले गाउँपालिका कसरी चलाउछौ?

everest kitchen

रुकुम । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगरले नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका उम्मेदवार अमरसिं खडका प्रति लक्षित गर्दै विद्यालय व्यवस्थापन समिति गठन गरेर चलाउन नसक्नेले कसरी गाउँपालिका समिति चलाउछौ भन्दै प्रश्न गरेका छन् । माओवादी केन्द्र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कमान्ड स्तरीय चुनावी सभामा उनलेे यस्तो बताएका हुन ।

“२९ बर्षसम्म एउटा विद्यालयको प्रधानाध्यापक भएर आफु प्रअ भएको त्रिवेणी -९ स्थित हिमालय माविमा काङ्ग्रेस उम्मेदवार खडकाले के गरे? प्रअ भएको मान्छले कसरी बजारमा घरघडेरी, अमेरिकामा छोराछोरी कसरी पठाउन सके?”,घर्तीले प्रश्न गरे । उनले भने, ” भाषण गरेर सम्बृद्धि हुने भए म पाँच घण्टा भाषण गर्छु, त्यसले सम्बृद्धि र सुशासन ल्याउन सक्दैन ।

घर्तीले उघि थपे, “भ्रम सिर्जना गरेर बिकेन्द्रित गर्नेहरूलाई खबरदार, पैसा बाडेर चुनाव गर्न खोजेको पाईएको छ यसलाई नरोके पैसाका झोला जफत गरिन्छ र आक्रमण गरे भन्न पाईने छैन ।”

यसअघिको स्थानीयतह निर्वाचनमा पनि दाङ, सल्यान, काठमाडौंबाट भिजिलान्तेहरु ल्याएर काङ्ग्रेसले लडाएको र अहिले पनि त्यहीँ रबैया देखाउन खोजेकोले त्यसलाई रोक्न त्रिवेणीका पाँच हजार युवा परिचालन गर्नेसक्ने क्षमता रहेको घर्तीले दाबी गरे । जनताको नेता हो भने जनताले सुरक्षा गर्छ १०/१२ जना प्रहरीको घेरामा रहर भोट माग्दै हिड्न आवश्यक नरहेको उनले बताए ।

त्यस्तै, उनले त्रिवेणी -९ मा भएको घटना सम्बन्धि बोल्दै दिउसै घर आगो हाल्नेलाई किन कारबाही नगरेको भनेर प्रशासनलाई प्रश्न गरे ? माओवादी समर्थक भएकै भरमा जनताको घरमा आगो हाल्नु पर्ने कारण र जिम्मेवारी काङ्ग्रेसले लिनुपर्ने उनले बताए ।

हिजोका आन्दोलनले प्राप्त गरेको उपलब्धिको एउटा पाटो संघीयता अनुसार स्थानीयतहको निर्वाचन हुदैछ भन्दै उक्त निर्वाचनबाट माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी बनाउन उनले अनुुरोध गरे । बिजयको समय नजिकिदै आएकोले विजय उत्सवको लागि तयारी रहन समेत उनले कार्यकर्तालाई निर्देशन दिए ।

“रानाहरुको पालामा रुकुमका काङ्ग्रेस मुखिया जिम्मल थिए , पञ्चायतकालमा प्रधान पञ्च थिए । तर रुकुममा के गरे? माओवादीले सशस्त्र जनयुद्ध हुदै जनआन्दोलनबाट आएको पार्टी हो । त्यसता माओवादीले के कति काम गर्यो, रुकुममा कस्तो विकास भयो ? हेर्नुस् र त्यहीँ अनुसार माओवादीलाई भोट दिनुहोस्,” उनले भने ।

त्रिवेणीमा तीनजना दलित वडा अध्यक्ष माओवादी उठाएको छ । खैत काङ्ग्रेसले वडाअध्यक्ष जस्ता प्रमुख पदमा दलितलाई स्थान दिएको? भन्दै प्रश्न गरे । वडा अध्यक्ष देखि गाउँपालिका अध्यक्षसम्म एउटै घरको उम्मेदवार उठाएकोसमेत उनले आरोप लगाए । फरक प्रसंगमा उनले माओवादीबाट असन्तुष्ट स्वतन्त्र उम्मेदवारहरुलाई मुल पार्टीमा भोट गर्न आग्रह गरे । जित सुनिश्चित छ, बहुमतले जिताउन भोट एकीकृत गरेर लाग्नु होस्, भोट खेर नफाल्नुहोस, पार्टी कार्यकर्ता देखि जनताको व्यवस्थापन पार्टीले गर्नेछ, उनले भने ।

यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिमका जिल्ला समन्वय समिति प्रमुख समेत रहेका राजकुमार शर्माले विवास, सम्बृद्धि, संघीयता, धर्मनिरपक्षता र विभिन्न मौलिक हकको रक्षा र उपलब्धिको लागि माओवादीलाई जिताउन आग्रह गरे । उनले भने, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने हाम्रो दायित्व हो, दायित्व पुरा गर्न भोट गर्न आग्रह गरे ।

केन्द्रमा गठबन्धन गर्ने भन्ने तर रुकुममा सहमति तोडेर काङ्ग्रेसले एमालेसंग गठबन्धन गरेको शर्माले आरोप लगाए । साथै, जनता मालिक हो र जनप्रतिनिधि कामदार हो । त्यसैले आफ्नो कामदारहरुले कस्तो काम गरेभन्ने हेक्का मालिक (जनता)ले राख्नुपर्ने उनले बताए ।

चुनावीसभामा माओवादी केन्द्रका तर्फबाट त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गणेश कुमार केसी “हिमाल” र उपाध्यक्ष पदकी उम्मेदवार राजकुमारी खड्का रेउले आफ्नो प्रतिबद्धताहरु राखेका थिए । यस्तै विप्लव नेतृत्वको नेकपा त्रिवेणी गाउँपालिका पार्टी कार्यालय सचिव मिलन बिक्रम पुन, नेविसंघका सुशान्त पुनले माओवादी प्रवेश गरेको माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खड्काले बताए । उनका अनुसार झुक्याएर काङ्ग्रेस प्रवेश गरेकी भनिएकी माओवादी त्रिवेणी -३ की सदस्य कौशिला ओली खडका पनि पार्टीमा फर्किएकी छन् ।