जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन

everest kitchen

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन ।

उनले भने, “जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस् ।” सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँले विकास निर्माणको काम गर्दासमेत स्थानीय आवश्यकता र जनताको चाहनालाई ख्याल गर्न आग्रह गर्नुभएको थियो ।

स्थानीय तहका नवनिर्वाचित प्रमुख÷उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौँ आएका देशैभरका जनप्रतिनिधिलाई पनि अध्यक्ष दाहालले सोही खालको निर्देशन दिएको थियो । कार्यक्रममा सहभागी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार सबै प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना मात्रै दिनुभएन, स्थानीय सरकार जनतामा जोडिएको सरकार भएकाले भूमिका बढाउनसमेत आग्रह गरेको थियो ।

अध्यक्ष दाहालले जनताको मन जितेर काम गरेको खण्डमा पार्टीलाई एक नम्बरको बनाउन कुनै समस्या नहुने बताएका थिए । पार्टीको विचार, सिद्धान्त र आचरणविपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै उनले सबैलाई सचेत गराएको थियो । अध्यक्ष दाहालको सचिवालयले पनि पार्टीसम्बद्ध स्थानीय तहका जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्न स्पष्ट शब्दमा निर्देशन दिनुभएको पुष्टि गरेको छ ।

माओवादीले बुधबार र बिहीबार देशैभरका नवनिर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई काठमाडौँ बोलाएर विभिन्न विधामा प्रशिक्षण दिएको थियो । आगामी आवको नीति तथा कार्यक्रम र बजेट तयार पार्नुअघि दिइएको प्रशिक्षणले सकारात्मक प्रभाव पर्ने कार्यक्रममा सहभागीको भनाइ छ ।