लघुकथा – वास्तविक सत्य
किरण आचार्य
भ्रमर र भ्रामरी प्रिय र मायालु जोडी थिए । उनीहरू वनका फूलहरुमा विचरण गर्थे । फलहरु ठुङेर खान्थे । भ्रामरी गुँडका काम गर्थिन् । बालबच्चा स्याहार्थिन् । साँझ हुन्थ्यो । सबै जुट्थे । मिलेर भोजन गर्थे ।मीठो नमीठो जे होस् ,अमृत तुल्य ठान्थे ।
भ्रमरको एउटा नराम्रो बानी थियो । भ्रामरीले त्यो बानी त्याग्न पटक पटक आग्रह गरेकी थिइन् । तर भ्रमर ! ऊ त पुरूष ! कहाँ टे्रथ्यो र ? हाँसेर टार्ने गर्थ्यो ।
केही समयपछि उसका जिब्रोमा केही दाना आए । भ्रामरी रोइन् । साथीहरुले चिकित्सकको सल्लाह लिन भने । उसले हाँसेर उडायो । भन्यो , ” भन्यो मलाई केही असहज भएकै छैन । दुखेकै छैन ।त्यत्तिकै मेरो स्वास्थको बारेमा चिन्ता गर्छन् ।” केहिदिन पछि उसलाई बोल्न अलि कठिन भयो । ऊ सुटुक्क चिकित्सककहाँ गयो । उनको जवाफ थियो , “धेरै अबेर भयो । ”
गुँडमा फर्कियो । डङ्ग्रङ्ग ढल्यो । भ्रामरी आत्तिई । सोधी , “ के भयो ? ´´ऊ केही बोल्न सकेन । आँखाबाट बरर झरेका आँशुले धेरै कुरा भने । चिकित्सकको प्रतिवेदन देखायो । भ्रामरी डाँको छोडेर रुन लागी। केही बेर आफै पनि रोयो । बिस्तारै छोराछोरीले थाहा पाए । आफन्तले थाहा पाए । सबै दुखी भए । भेट्न आए । अब उसलाई हाँसो लाग्न लाग्यो । यी किन आएका ? ऊ सोच्थ्यो , “ के यी सबै सँधै यहीँ बसिरहने हुन् र ? ´´
एक दिन अलि धेरै गाह्रो भयो । भ्रामरी विह्वल भएर रुन लागी। ऊ पनि रोयो । आखिर यति प्यारो संसार छोड्ने कुरा थियो । रुँदै भन्यो ” यो रात्रीको बसेरा हो , प्यारी । सबै को पालो ढिलो छिटो आउँछ नै । मलाई छिटो जानु थियो , सायद त्यसैले गलत बानी रोजेँ। ´´