बञ्चरेडाँडामा प्रहरी र स्थानीयबीच झडप

everest kitchen

काठमाडौं । फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो ।

फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा रोकेका छन् ।

सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

स्थानीयका अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । प्रहरीले डेढ दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको छ । सहरी विकास मन्त्रालयमा सोमबार भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो ।

सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायतको रोहबरमा बसेको काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीचको बैठकले स्थानीयवासीका माग तथा सर्त पूरा गर्नेगरी फोहोर व्यवस्थापनमा सहमति भएको थियो ।

सहमतिअनुसार बन्चरेडाँडाको ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७९,०८० का लागि विभिन्न पाँचवटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजनको प्रतिबद्धता जनाइएको छ ।

जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनका आधारमा अधिग्रहण गरिने र गर्नुपर्ने जग्गा यकिन गरी अधिग्रहणको प्रक्रिया सुरु गर्ने सहमति छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सिफारिसका आधारमा प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि १० श९याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

काठमाडौँ महानगरपालिकाका तर्फबाट धुनीबेँसी नगरपालिकाका वडा नं. १, ३, ४ र ककनीका वडा नं. १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्नेगरी स्वास्थ्य बीमा गर्ने सहमति भएको छ । उक्त काम एक हप्ताभित्रै सुरु गर्ने सहमति भएको छ ।

ती क्षेत्रका प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको प्रतिवेदनलाई आधार मानी १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने सहमति भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर छ महिनाभित्र सिसडोलको ल्यान्डफिल साइटको प्रक्रिया सुरु गर्ने पनि सहमति छ ।