सिसडोलमा फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि

everest kitchen

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाई जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको हो ।

टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरकफरक विन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरेको हो ।

सिसडोलबाट संकलित तीन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् । ‘स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ,’ शाहले फेसबुकमा लेखेका छन् । विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ ।