everest kitchen

लघुकथा:- बदलिएको रुप

देबकी के.सी.
शिला र कल्पना कुनै बेला कलेजका मिल्ने साथी थिए । कलेज सकिएपछि उनीहरूले कार्यक्षेत्र अलग अलग गरे । शिला पत्रकार बनिन् । उनी एउटा दैनिक पत्रिकामा काम गर्न थालिन् ।

कल्पनाले भने कपडा दोकान खोलिन् । समय बित्दै गयो । अलि पछि कल्पनाले एउटा ठुलै पार्टीको नेतासित मिलेर ठेक्कापक्काको काममा लागिन् । ठगी धन्दामा सात महिना जति जेल पनि परिन् । पछि मोटो रकम पार्टीलाई सहयोग गरिन् । चुनाव लड्ने टिकट हात पारिन् । उनी क्रमश: कुशल राजनीतिज्ञ मात्र होइन , चुनाव जितेर मन्त्री समेत बनिन् । खुसियाली मनाउन उनले भोजको आयोजना गरिन् । सबै साथी भाइलाई निम्तो बाडियो । उनले पुरानो साथी शिलालाई सम्झिइन् ।

फोन कल गरेर निम्तो दिइन् । जिस्काउने पारामा उनले भनिन् , “ शिला तँ अझै त्यही पत्रुकार भएर बसेकी छेस ? केही उन्नति प्रगति छैन ? ´´
कल्पनाको कुरा सुनेर उनलाई निकै रिस उठ्यो । कडकिदै जवाफ दिइन् , “तिमी जस्तो रुप बदलेर मलाई मन्त्री हुनु पर्या नि छैन , कसैलाई ठगी गर्नु नि छैन । ´´