मलेसियाबाट ट्रफी लिएर फर्किनेमा विश्वास छ – रुविना क्षेत्री

everest kitchen

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले यसपटक मलेसियाबाट खाली हात नआउने बताएकी छन् ।

‘वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ, तर हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको पीडा छ’ उनले भनिन्, ‘तर यसपालि सबै खेलाडीको मिहिनेत देख्दा हामीले राम्रो गर्छौं भन्ने विश्वास लागेको छ । टिम खाली हात नफर्किने गरी प्रतिस्पर्धा गर्नुपर्नेछ ।’

नेपाली महिला टिमले गत महिना घरेलु मैदानमै युगाण्डासँग खेलेको श्रृंखलामा देखिएका कमजोरी सुधार्दै अभ्यास गरिरहेको कप्तान क्षेत्रीले बताइन् ।

नेपाली राष्ट्रिय महिला टोली मलेसियामा जुन १७ देखि २५ तारेखसम्म आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारीमा छ ।

महिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले र्कीतिपुर मैदानमा प्रशिक्षण गरिरहेको छ ।

एसीसी महिला टी–२० च्याम्पियनसिपमा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन् ।