अस्ट्रेलियाले बढायो न्यूनतम पारिश्रमिक, एक घण्टामा कति हुन्छ कमाई ?

everest kitchen

काठमाडौं । उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भएसँगै अस्ट्रेलियाले कामदारहरूको न्यूनतम पारिश्रमिक पनि बढाउने घोषणा गरेको छ ।

स्वतन्त्र कार्य आयोग (एफडब्लुसी) का अनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अस्ट्रेलियन डलर हुने भएको हो । यस अघि न्यूनतम पारिश्रमिक २०.३३ अस्ट्रेलियन डलर थियो।

परिमार्जित पारिश्रमिक अनुसार अब अस्ट्रेलियामा कार्यरत कामदारले हरेक हप्ता ४० डलरसम्म थप आम्दानी गर्न सक्ने एफडब्लुसीले जनाएको छ । यो निर्णयका कारण अस्ट्रेलियाका झण्डै २७ लाख कामदार प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।

अस्ट्रेलियामा यस अघि नै कर्मचारी सङ्गठनहरुले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए भने सरकारी पक्षले ५.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्ने प्रस्ताव अघि सारेको थियो ।

यस्तो अवस्थामा सरकारी पक्ष र कामदार पक्ष दुवैको मागको बिचमा रहेर ५.२ प्रतिशत वृद्धि गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।