क्षमताभन्दा दोब्बर कैदीबन्दी : व्यवस्थापनमा समस्या

everest kitchen
फाइल फोटो

राँझा । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ३५० जनाको क्षमता रहेको कारागारमा हाल ७५३ जना कैदीबन्दी राख्नुपरेको नेपालगञ्ज कारागारका प्रमुख रामकुमार सोनकरले जानकारी दिए ।

उनका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण गर्मी समयमा अलि बढी समस्या हुने गरेको छ । नेपालगञ्जमा यतिबेला अत्यधिक गर्मी भएका कारण कैदीबन्दीमा लुतो लगायतका सरुवा रोग र शौचालयको समस्या हुने गरेको छ ।

जीर्ण अवस्थामा रहेको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्नुपर्दा छालालगायत विभिन्न सरुवा रोगको समस्या देखिएको कारागारका स्वास्थ्य शाखा प्रमुख कविराम बुढाथोकीले जानकारी दिए। अहिले गर्मीका कारण कैदीबन्दीहरु दैनिकजसो बिरामी पर्ने गरेको उनको भनाइ छ ।

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राख्नु परेकाले उनीहरुले न्यूनतम सुविधासमेत पाउनबाट वञ्चित बनेका छन् । कैदीबन्दीलाई व्यवस्थित रूपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका–३ नौंबस्तामा तीन हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण सुरु गरेको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको कारागार प्रमुख सोनकरको भनाइ छ । उनले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाइ हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको बताए ।