नेपालको कुरिलो दुबई र कतारमा पुग्यो

everest kitchen

काठमाडौँ । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।

एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए । उनले भने, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनको भनाइ छ ।

आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उनको गुनासो छ । विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आउनुभएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन । कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए । कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्ने गरेको उनले बताए । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उनको भनाइ छ ।

भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उनले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताए । उनले भने, “कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उनले गुनसो गरे ।

अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उनले जानकारी दिए । आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उनले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताए । उनले भने, “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन ।”

उनले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गरेक छन । सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी उत्पादन भइरहेका छन् । उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उनले बताए । उनले भने, “तरकारीको मूल्यको कुरा गर्नेहो भने लागत मूल्य पनि उठ्न कठिन छ ।” बुबाआमाले विसं २०५० देखि गर्दै आएको यो व्यवसाय भएकाले आफूले यसलाई व्यावसायिकरुप दिएको उहाँको भनाई छ ।

कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उनको गुनासो छ । उनले भने, “राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन ।” शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उनले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताए ।