लघुकथा : को खुशी ?
अतुल पोखरेल
दुई पुराना साथीहरुको धेरै पछि चोकमा भेट भयो ।
“ओहो, के छ धनपति जी ?”
“ठीक छ, मित्र । मैले तपाईं जस्तो युनिभर्सिटी त पढिन । तर पनि मैले आफ्नै ब्यापार व्यवसायमा पिएचडी नै गरेको छु भन्दा हुन्छ । मेरो करोडौंको कारोबार छ ।”
धनपतिको बोलीमा आफूले नपढेकोमा एउटा ठूलो दुखेसो भएको प्रस्ट बुझिन्थ्यो ।
“तपाईंको नि, विद्यापति जी ?”
“मेरो पनि राम्रो छ, मित्र । मैले पनि, पैसा धेरै नकमाए पनि, देश विदेशका युनिभर्सिटीबाट धेरै डिग्रीहरु लिएको छु जो करोडौंको मूल्य भन्दा बढी मूल्यवान छन् ।”
विद्यापतिको कुरा सुन्दा उनलाई सम्पत्ति कमाउन नसकेकोमा ठूलो पीडा छ भन्ने कुरा उनको प्रत्येक शब्दले बताइरहेको थियो ।
त्यसै बेला नजिकै एउटा कारको गति मन्द भयो । कारभित्र एक पुराना साथीले खिस्स मुस्काउँदै हात हल्लाए र कार नरोकी गए ।
‘चिन्नुभयो ? उनि सर्वपति हुन् नि, लन्डनबाट पीएचडी गरेका छन् यिनले।’
‘किन नचिन्नु ? सम्पत्ति पनि करोडौं कमाए यिनले ।’
‘तर यिनकी स्वास्नी एउटा ड्राइभर संग पोइला गइछन् ! बिचरा आजकल डिप्रेशनमा छन् ।”
त्यत्तिकैमा एउटा भिखारी ‘गीत गाता चल ओ साथी, गुनगुनाता चल’ गाउँदै उनीहरुको छेउमा आयो । दसदस रुपियाँ भिखारीको टोकरीमा हालिदिएपछि भिखारी पहेंला दाँत देखाएर हाँस्तै गयो ।
त्यसपछिका दुई घण्टा धनपति र विद्यापतिले बहस गर्दै बिताए – संसारमा को खुशी भन्ने बारेमा ।