लघुकथाकार म्यामराज राईको “हाम्रो बाटो” बारे परिचर्चा

everest kitchen

काठमाडौं । हाम्रो लघुकथा पाठशालाद्वारा आयोजित लघुकथाकार म्यामराज राईको हाम्रो बाटो लघुकथासङ्ग्रह बारे परिचर्चा कार्यक्रम जुममार्फत यही असार २३ गते सम्पन्न भएको छ। डा. पुष्करराज भट्ट,ध्रुव मधिकर्मी,शेखर अर्याल,वन्दना घिमिरे तथा सत्या अधिकारीको परिचर्चामा कार्यक्रम सम्पन्न भएको हो ।

परिचर्चाकार सत्या अधिकारीले आवरण चित्र उत्कृष्ट बनेको,कथागत चित्रले एकसाट्ठी ओटा सबै कथाहरू सरल भाषा तथा सुबोध्य भएकाले बुझ्न सहज भएको र मूल्य रु. २६५/- राखिएकोमा असुल हुने बताईन । अर्का परिचर्चाकार वन्दना घिमिरेले लघुकथाकारको कर्मथलो जापान भएर होला जापानमा भइसकेको/भइरहेको विकास सर्लक्क सपनामा होस् या विपनामा आफ्नो जन्मभूमि नेपालमा लिएर आएका छन्,भनिन । उनले अगाडि थपिन,”व्यस्त शहरमा बसेर त्यहाँका राम्रो संस्कार,जनजीवन र विकासको लहर आदि बारेमा कथाकारको लघुकथा साहित्यमार्फत सजिलै अनुभव गर्न सकिन्छ।”

त्यस्तै, परिचर्चाकार शेखर अर्यालले दुई देश – विकोसोन्मुख देश नेपाल र अति विकसित देश जापानको विकास नीति,राष्ट्रिय रणनीति,राजनीतिक संस्कार आदि तुलना गरेको विषय लघुकथाहरूमा पाइने र जसमा कथाकारले स्वाभाविक चाहना राखेको बताए ।

परिचर्चाकारको रुपमा रहेका वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मीले समसामयिक कथाहरू हाम्रो बाटोभित्र समावेश भएको भन्दै कथाकारको कर्मथलो प्रवासमा रहेकोले अझै आप्रवासी समस्याहरू समेत समेट्दा सुनमा सुगन्ध हुने बताए ।

यस्तै कार्यक्रमका अन्तिम परिचर्चाकार तथा साहित्यको लघुकथा विधामा पिएचडी गर्ने पहिलो व्यक्ति डा. पुष्करराज भट्टले हाम्रो बाटो लघुकथासङ्ग्रहमा लघुकथाकारको मानक कथाहरू अवश्य समाविष्ट भएको र ती सबै उत्कृष्ट र सबै निकृष्ट कथाहरू नभएको बताए ।उनले यही कार्यक्रममार्फत सङ्ग्रहको अवधारणा बनाउॅंदा कथा परिपाक छ/छैन,कतै बालकथा पो बन्दैछ कि! जस्ता महत्त्वपूर्ण सुझावहरू समेत नवपुस्ताका लेखकलाई दिएर सचेतसमेत गराए ।

अनौपचारिक रुपमा सन्चालित कार्यक्रमका प्रस्तोतामा द्वय डा. शेखरकुमार श्रेष्ठ र विमुन्स पौडेल रहेका थिए । साथै, पाठशालाका संस्थापक व्यवस्थापक लता के.सी.ले परिचर्चाकारहरूप्रति विशेष आभार प्रकट गर्दै प्रत्यक्षपरोक्ष लाइभ कार्यक्रममा जोडिएर हौसला,प्रेरणा दिने सम्पूर्णलाई एकमुष्ट धन्यवाद दिॅंदै कार्यक्रम समापन गरेकी थिईन । (डा. शेखरकुमार श्रेष्ठको सहयोगमा तयार)