सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

everest kitchen

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पु¥याउन सफल हुने विश्वास गरे।

नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५औँ वर्ष मनाइरहेको सन्दर्भ स्मरण गरे । उनले नेपाल र भारतबीच सदियौँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताकाबीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखे ।

सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पु¥याएको र नयाँ अध्यायको सुरुआत गरेको बताए । दुबै देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थिए।

भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले आफू त्यसविरुद्ध जुँधिरहँदासमेत नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै राजदूत श्रीवास्तवलाई धन्यवाद दिए। उनले जलवायु परिवर्तनलगायत विश्व राजनीतिक मञ्चमा देखा परेका सङ्कट समाधानमा दुबै देशले साझा समझदारी बनाउँदा राम्रो हुने धारणा राखे ।

‘विश्व शान्तिका लागि मिलेर अघि बढ्नुपर्छ”, सभामुख सापकोटाले भने । उनले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै दुवै देशका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने धारणा राख्नुभयो । सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान चिन्तित बनेको उल्लेख गर्दै भेटमा मलको विषयलाई महत्वका साथ उल्लेख गर्न चाहेको बताए ।

सभामुख सापकोटासँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले भारतको ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गरे । लामो र ऐतिहासिकसम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले सम्पर्क सञ्जालको अझै विस्तार गर्न सकिने धारणा राख्नुभयो । जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको उल्लेख गर्दै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नु पर्ने विचार व्यक्त गरे ।