प्रवासीसंग डाक्टर: पेट तथा कलेजोमा समस्या खानपिन प्रमुख कारण

everest kitchen

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ श्रृङखला हो ।

कार्यक्रम प्रवासमा रहेका नेपाली श्रमिकहरु लक्षित उनीहरूको स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका समस्याहरूको निदानमा आधारित रहेको थियो । सातौं श्रृङखलामा पेट तथा कलेजो सम्बन्धि विभिन्न प्रकारका समस्याहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धि जानकारी दिईएको पीएनसीसीको आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिए ।

कार्यक्रममा वीर अस्पताल तथा नर्भिक अस्पतालमा कार्यरत जनरल फिजिसियन तथा कलेजो रोग विशेषज्ञ डाक्टर पुकार थापाले प्रवासमा रहेका नेपालीहरुलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका थिए । पेट तथा कलेजोको रोग विशेषगरेर खानपिनको कारणले लाग्ने डाक्टर थापाले जानकारी दिए ।

पेटको समस्यामा सबैभन्दाबढी ग्यास्ट्रिकको समस्या रहेको र यो हुनुको मुख्य कारण भनेको खानपानमा हुने गडबडी हो । समयमा नखाने तथा पाएको बखतमा जे पानि खाने बानीले मानिसलाई ग्यास्ट्रिक हुने गर्दछ ।

त्यस्तै मानिसलाई शरीरमा भएका दीर्घरोगको नियन्त्रणका नाममा सेवन गरिने औषधि र बिषेशतः दुखाई कम गर्ने औसाधिको सेवन गर्दा समेत ग्यास्ट्रिक हुन्छ भने मदिरा, सुर्ती तथा ड्रग्सको सेवन गर्नेहरुमा र मानसिक तनाव लिनेहरुमा समेत ग्यास्ट्रिकको समस्या हुने डाक्टर थापाले जानकारी दिए । ग्यास्ट्रिकको अवस्था नियन्त्रण तथा समयमा स्वास्थ्य उपचार नभएमा अल्सर हुने र यो मानिसको लागि घातकसमेत हुने उनले सचेत गराए ।

त्यस्तै, मदिरा सेवन गर्ने व्यक्तिको कलेजो बिग्रने सम्भावनाबढी हुन्छ । हाम्रो समाजमा भने ९०–९५ प्रतिशत लिभर सिरोसिसको कारण रक्सीको नियमित सेवन नै रहेको उनलेे बताए ।

यस्तै, कलेजो बिग्रिने प्रमुख एक कारण हेपाटाइटिस बी र सी इन्फेक्सन रहेको उक्त समस्या लामो समयदेखि उपचार नगरेमा कलेजो बिग्रिने गरेको परामर्शदाताले जानकारी दिए । उनका अनुसार, रगत, असुरक्षित यौन सम्पर्क, लागूऔषध, प्रयोग भइसकेको सुइ साटफेर आदि माध्यमबाट हेपाटाइटिस सर्ने भएकोले यसबाट जोगिन उनले सबैलाई आग्रह गरे । हिजोआज लामो समयदेखि हेपाटाइटिस बी र सी भएर कलेजो बिग्रेका बिरामीको संख्या पनि बढ्दो मात्रामा रहेको छ ।

पीएनसीसीले यसअघि पनि निरन्तर रुपमा स्वास्थ्य सचेतनाको लागि प्रवासीसंग डाक्टर नामक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमको निरन्तरता अनुरुप स्वास्थ्यसम्बन्धि जनचेतनामुलक कार्यक्रमको सातौं श्रृङखला आउँदो आईतवार सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न देशहरूबाट श्रमिक नेपालीहरुको सहभागीता रहेको थियो ।