रुकुम (पूर्व)को भुमेमा कुचिबाङका विद्यार्थीलाई सैन्य तालिम

everest kitchen

रुकुम । रुकुम (पूर्व) भुमे गाउँपालिका-८ स्थित कुचिबाङ माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (National Cadet Corps) को जुनियर डिभिजन प्रशिक्षण सुरु भएको छ । साउन १ देखि राष्ट्रिय सेवा दल पश्‍चिम तालिम शिक्षालय कोहलपुरद्वारा उक्त ४८ औं व्याचको जुनियर डिभिजन तालिम सञ्चालन भईरहेको छ।

कुचिबाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक खिम बहदुर ओलिको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि नरसिंह दल गण ‘ग’ गुल्म रुकुमकोटका गुल्मपति सेनानी श्री बाबुलाल जि.सी.ले व्यानर वाचन गरेर तालिमको उद्‍घाटन गरेको विद्यालयले जनाएको छ ।

सो कार्यक्रममा भुमे -८ का वडा अध्यक्ष दिनेश रोका अभिभावक संघका अध्यक्ष दिपक रोका लगायत स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, शिक्षिका तथा तालिम प्रशिक्षकहरु श्री महेश श्रेष्ठ र प्युउठ श्री चिरञ्जीवी खडकाको उपस्थिति रहेको थियोे ।

एक सय दिनसम्म सन्चालन हुने तालिममा उक्त विद्यालयका १८ छात्रा र १८ छात्र गरी जम्मा ३६ जना विद्यार्थीहरूले भाग लिइरहेको शिक्षिका पार्बती बुढाले जानकारी दिईन ।

शिक्षण सिकाई संगै राष्ट्र विकास, राष्ट्रिय विपत्तिमा समेत स्वयंसेवकीय भूमिकाको ज्ञानसीप तथा दक्षता प्राप्त गर्न सकुन् भन्ने हेतुले २०२२ साल कार्तिक ८ गते देखि नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम देशका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको छ ।

यसरी स्थापना भएको सेवा दलले २०२४ सालदेखि २०३० सालसम्म सिनियर डिभिजन अन्तरगतका छात्र–छात्राहरुलाई तालिम सञ्चालन गरेको थियो। त्यसपछि लागू भएको नयाँ शिक्षा नीति पश्चात २०३१ सालदेखि ७० सालसम्म सिनियर डिभिजनका छात्रछात्रालाई तालिम दिइएको थियो।

२०७१ सालदेखि सिनियर र जुनियर डिभिजनका छात्रछात्रालाई यो तालिम दिन थालिएको राष्ट्रिय सेवा दलको अवधारणा पत्रमा उल्लेख गरिएको छ। सिनियर भन्नाले कलेज तहमा पढ्ने र जुनियर भन्नाले स्कुल तहका छात्रछात्रालाई जनाइएको छ।