नाम जस्तै सम्पत्तिवाला मेयर धनराज

everest kitchen

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । स्थानीय तहकाे चुनावमा निर्वाचित भएपछि उनले सम्पती विबरण सार्वजानीक गरेका हुन् ।

उनले सार्वजानीक गरेको विवरण अनुसार उनी झण्डै ४४ करोडको सम्पत्तिका मालिक रहेका छन् । महानगरको वेवसाइटमा राखिएको विवरणमा मेयर आचार्यसँग पोखरामा २ वटा र काठमाडौंमा एउटा घर रहेको उल्लेख छ ।

पोखराको वडा नम्बर ९ मा २८९ स्क्वायर मिटर जग्गा र त्यसमा बेनेका दुईवटा घर छन् । आचार्यकी पत्नी पुष्पाकुमारी पौडेलको नाममा रहेको उक्त घर–जग्गाको मूल्य ९ करोड २५ लाख रहेको जनाइएको छ ।

यस्तै काठमाडौंको सीतापाइलामा मेयर आचार्यको अर्को घर छ । ९२५.६० स्क्वायर मिटरमा फैलिएको यो घर पनि आचार्यले श्रीमतीकै नाममा राखेका छन् । घरको मूल्य एक करोड ८५ लाख रुपैयाँ उल्लेखित छ । उनको तेस्रो घर पोखरा–११ मा रहेको छ । मेयर आचार्यको आफ्नै नाममा रहेको घर अनुमानित ३ करोड ८५ लाख रुपैयाँको रहेको छ ।

उनी सँग दोलखाको हेवा गाउँपालिकामा ८ टुक्रा जग्गा छन्, जसको मूल्य ८७ लाख रुपैयाँ पर्ने उनले उल्लेख गरेका छन् । यस्तै उनीसँग चारवटा गाडी र एक स्कुटर छन् । गाडी र स्कुटरको कुल मूल्य २ करोड रुपैयाँ उनले खुलाएका छन् ।

सम्पत्ति विवरणमा मेयर आचार्यसँग बैंकमा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख छ । यस्तै, उनले विभिन्न कम्पनीका २५ करोड रुपैयाँको सेयर खरिद गरेको बताएका छन् ।

आचार्यले आफ्नो सम्पत्ति ४३ करोड ६१ लाख ४५ हजार ६१६ रुपैयाँ बराबरको सम्पत्ति रहेको उल्लेख गरेका छन् । आचार्यले विभिन्न बैंक, फाइनान्स कम्पनी तथा साथीभाइ आफन्तबाट २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

उनले राखेको यो सम्पत्ति विवरणमा पुख्र्यौली सम्पत्ति समावेश गरिएको छैन । साथै ५४ तोला सुन, ३८ ताला चाँदी र ५ तोला हिरा पनि उनले तपसिलमा उल्लेख गरेका छन् ।