एटिएम मेसिन फोरेर १५ लाख चोरी

everest kitchen

पोखरा । पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए । उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।

चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटिएममा १७ लाख राखेकामा दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ ।

पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् । गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो ।