आडम्बर – विमला अधिकारी देवकोटा

everest kitchen

लघुकथा – आडम्बर

विमला अधिकारी देवकोटा
“मनकली… ए मनकली….! मन्दिर जाने होइन ?´´, बिहानको त्यस्तै सात बजेतिर मेरो घरको आँगनमा उभिएर निकै उच्च आवाजमा बिमली बोलाउँदै थिइन् ।

मैँले भित्रबाट झ्यालको पर्दा हटाउँदै उनलाई नियालेर हेरेँ । दुवै हातमा मेहेन्दी लगाएकी , हरियो साडी , हातभरि हरियो चुरा , केशमा हरियो रिबन , सुन्दर शृङ्गारमा उनी निकै सजिएकी थिइन् । आज श्रावणको पहिलो सोमबार अलि टाढाको महादेवको मन्दिर जान हिँडेकी रहिछिन् । मलाई सँगै लिएर जान खोजेकी हुन् भन्ने कुरा मैले बुझिहालेँ ।

यति राम्री सजिएर कसको लागि व्रत बसेको होलिन् ? श्रीमान् सँग सधैँ बाझाबाझ र झगडा गरी रहने उनी , खै कसका लागि व्रत बसेर मन्दिर जाँदै थिइन् ? मैले केही भेउ पाउन सकिँन । होलान् , कोही माया गर्ने उनैको लागि पनि हुन सक्छ । श्रावण महिना नै प्रेम महिना हो भन्छन्।

म आफ्नै मनसित कुरा गर्न थालेँ , “ बाहिर देखिने सुन्दरताको के अर्थ ? भित्री आवरण पो सुन्दर हुनुपर्छ । सफा मनले मन भित्रको मन्दिर सजाएर पूजा गरे हुँदैन र ? ´´
म बिहानको चार बजे नै उठेर घरको धन्दा सकेर आफ्नै घर भित्रको भगवानको पूजा आराधना गर्ने तयारी गर्दै थिएँ । त्यो सुन्दर आवरणमा सजिएर जाने सामर्थ्य यो मनले राख्न सकेन । देखावटी ढोङ नि गर्न सकिँन ।
मैले भित्र बाट नै भनी दिएँ , “तिमी जाऊ बिमली ! म टाउको दुखेर सुतिरहेको छु । ´´