नगरसभामा ४३ लाखको मासुमात्रै !

everest kitchen

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले एक वर्षको अवधिमा नगरसभा बैठकमा ४३ लाखभन्दा बढी रकम मासुको नाममा मात्रै खर्चेर अनियमितता गरेको सार्वजनिक भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले नगरसभाको नाममा ४३ लाख ८ हजार १२८ रुपैयाँको खसी र ब्रोइलर कुखुराको मासु खर्च भएको देखाइएको हाे ।

गत वर्षको नगरसभामा केही वडाध्यक्षसहितका जनप्रतिनिधिले गरेको विरोधका कारण तत्कालीन मेयर लालकिशोर साह पक्षका केही जनप्रतिनिधि र आमन्त्रित व्यक्ति लगायत अति न्यून उपस्थितिमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

महालेखाको प्रतिवेदनमा पनि उपमहानगरपालिकाले सञ्चालन गरेको सो नगरसभामा कतिजना उपस्थित थिए भन्ने खुल्न नसकेको भनिएको छ । तर उपमहानगरपालिकाले खाना, खाजामा ठूलो रकम खर्च गरेको देखाएको छ ।

महालेखा परीक्षकको कार्यालयले नगरसभामा उपस्थितिको संख्या नखुलेकाले पालिकाका कर्मचारी, पदाधिकारी र अन्य आमन्त्रित व्यक्ति गरी ५५० जनालाई आधार मानेर प्रतिव्यक्ति ७ हजार ८३३ रुपैयाँ खर्च गरेको जनाएको छ । महालेखाले प्रतिव्यक्ति ७ हजार ८३३ रुपैयाँ खर्च हुनु स्वाभाविक नभएको सो प्रतिवेदनमा भनेको छ ।