लघुकथा : आम्दानीकाे बाेट
लाेकनाथ पुडासैनी
मानध्वजले दिलकुमारीलाई भित्र्याएकाे भाेलिपल्टै आङ्गनकाे डिलमा नरिवलका दुइटा बिरूवा सारे । दुवैले मेलापात, निमेक गर्दै जिन्दगीकाे रथ एकसाथ हाँके । चारवर्षपछि बर्सेनीका छाेराछाेरी जन्मिए । अभाव थियाे र पनि सन्तानकाे आगमनले उनका झुपडीमा खुसीयाली छायाे । भाेक प्यास, घामपानी सहँदै नरिवल र उनीहरू एउटै आङ्गनमा हुर्के, बढे ।
“… अब त याे भदाैले ६ पुग्छन् । आफूले पढ्न नपाए नि यिनलाई स्कूल भर्ना गर्नु पर्छ । बरू कसरी पढाउने भिउसिनका बा ?” च्याँख्ला पस्कँदै दिलकुमारी बाेलिन् ।
“म पनि साेच्दैछु । एउटा उपाय त कस्साे नलाग्ला र !”
“सधैँ निमेककाे भर ! यसरी कति दिन चल्छ बुढा ? पढाइ लेखाइ, पेट पूजा केले गर्ने ? आम्दानीकाे बुटाे क्यै छैन । बरू साउदी, कतार जता हुन्छ ? ऋण खाेजेरै भए नि जाऊ भाे ! ह्याँ म धानम्ला ।
“…, मायाँ नभाकी ! काे जान्छ अर्का मुलुक । परचक्रीकाे चाकरी गर्नुभन्दा त यहीँकाे माटाे काेपर्छु नि बरू ! त्यै पनि किन पिर गर्छेस् ? देख्दिनस् त्याँ ? धन्न बेलैमा राेपिएछ । अब त्यसैले पाल्छ ।”
चार थुन्सेबढी झुप्पा फलेका नरिवलका बाेटतिर इशारा गर्दै दृढताका साथ मानध्वज बाेले ।