त्रिवेणीमा वार्षिक प्रगति समीक्षा: १५ लाखको योजनामा ३ लाख मात्रै भुक्तानी!

everest kitchen

विपेन उलङगे
रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार त्रिवेणी गाउँपालिकाको खारानेटा स्थित सभाहलमा जनप्रतिनिधि, कर्मचारी, उपभोक्त समिति, सरोकारवाला, पत्रकार तथा गाउँपालिकाका नागरिकहरुको उपस्थित कार्यक्रम सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकामा ३८ करोड ६६ लाख ८७४ चालुतर्फ खर्च गरेको छ भने १६ करोड १३ लाख ७१ हजार ५८३ रुपैयाँ पुजीगत खर्च गरेको उल्लेख गरेको छ ।

कार्यक्रममा उपस्थिति विभिन्न व्यक्तिहरुले गत बर्षको कार्यनयन भएका बजेट तथा विभिन्न आयोजना बारे जिज्ञासा राखेका थिए । विभिन्न प्रश्नहरुको गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती लगायतले जवाफ दिएका थिए ।

उपस्थितिहरुले कोरोनाकालमा स्थापना गरिएका क्वारेन्टाइनको लागि किनिएका बस्तु तथा संरचना, कोरोना राहत बारे जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाको जवाफ दिदै कोरोना राहत कार्यविधि अनुसार छनोटमा परेका कोरोना पीडितलाई १० हजारका दरले रकम उपलब्ध गराएको उनले बताए । त्यस्तै, क्वारेन्टाइन सञ्चालनको क्रममा किनिएका खर्च भएर जानेबाहेकका भौतिक वस्तुहरु जिन्सि शाखामा रहेको स्वास्थ्य शाखा प्रमुख प्रेम पुनले जानकारी दिए ।

असारमा मात्रै बजेट परिचालन हुने प्रबृत्ति बारे राखेको जिज्ञासामा जवाफ दिदै, अधिकृत घर्तीले बजेट बाँडफाँड भएर यहाँ आईपुग्दा ढिलो हुने, कार्तिक मंसिरमा सम्झौता भएका योजनाहरुमा पनि उपभोक्त समिति तथा ठेकेदारले विभिन्न बहानामा ढिलो गरि काम सुरु गर्ने कारणले यस्तो समस्या भएको उल्लेख गरे ।

त्रिवेणी -०३ का वडाअध्यक्ष दिपेन्द्र ओलीले सबै जनतालाई सम्पुर्ण बजेट कार्यक्रम बारे सुचनाको पहुँचमा पुर्याउनु पर्ने, लक्षित वर्गक‍ो बजेट सिमित व्यक्तिको समुहलाई मात्रै दिन नहुने बताएका थिए । उक्त बिषयको सम्बोधन गर्दै उपाध्यक्ष राजकुमारी रेउले लक्षित बर्गको बजेट सिमित महिलाहरुले समूह दर्ता गरेर लिएपनि उक्त समुहमा जुनसुकै महिलाहरु बस्न पाउने र लाभ लिन सक्ने बताईन ।

त्यस्तै कार्यक्रममा त्रिवेणी -८ स्थित कोल्टिबाङ सडक आयोजनाको १५ लाख बजेट बिनियोजन भएकोमा ३ लाख मात्रै भुक्तानी भएपछिको उक्त विषयमा उपस्थितिले जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ दिदै उपाध्यक्ष रेउलेले बजेट अनुसार काम सम्पन्न नभएकोले सोही अनुसार प्राविधिक मुल्यांकन भएर ३ लाख मात्रै भुक्तानी प्राप्त गरेको बताईन । प्राविधिकले आफ्नो काम कर्तव्य र जागिरको जोखिम हुने गरि कसैको दबाबमा अनावश्यक मुल्यांकन गर्न नसक्ने भन्दै “उनले भनिन्” सडकको माथिल्लो भागमा खोर्सेकोमा मात्रै मुल्यांकन गर्न सकिदैन, बजेट अनुसारको काम भएपछि मात्रै भुक्तानी पाईन्छ ।”

अपांगता परिचयपत्र प्राप्त गर्न आउने धेरैले क, ख बर्गको पाउनुपर्ने अडान लिने र कार्यविधि अनुसार ग,घ बर्गमा परेका कतिपयले आफुहरुले जिताएर पठाएकोले जसरी पनि भत्ता प्राप्त गर्ने क,ख बर्गको परिचयपत्र पाउनुपर्ने माग राख्ने गरेकोले मापदण्ड बाहिरकाले त्यस्तो माग नराख्न अनुरोध गरिन ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसीले “जनतालाई दिनुपर्ने सुचना तथा जानकारी अनिवार्य दिनुपर्ने, सुचना लुकाउने नभई गाउँपालिका विभिन्न निर्णय तथा कार्यक्रमहरु बारे सार्वजनिक रुपमा हुनुपर्ने र कुशलतापूर्वक काम गर्न नसकेपनि ईमानदारी पूर्वक गर्नुपर्ने बताए ।

त्यस्तै अध्यक्ष केसीले सार्वजनिक सुनाई नगरेका विभिन्न योजना तथा कार्यक्रमको बजेट भुक्तानीको लागि सिफारिस नगर्न मातहतका वडाअध्यक्षहरुलाई निर्देशनसमेत दिएका थिए । उनले भने, “बर्षै पिच्छे एउटै सडक बाटो नापेर, अलिअलि खनेर बजेट भुक्तानी लिने परिपाटीको अन्त्य गर्नुपर्छ ।

गाउँपालिकाको शिक्षामा सबैभन्दा ठुलो मात्रामा लगानी छ । करिब ५ करोड ६५ लाख रुपैयाँ त तलबमा  मात्रै मात्रै जान्छ, लगानी अनुसारको शिक्षाको गुणस्तर तीर हामी सबैको ध्यान जान जुरुरी छ , यसको सबैले आ-आफ्नो ठाउँबाट पहल थालौ”,अध्यक्ष केसीले भने ।

साथै अध्यक्ष केसीले विभिन्न दैवीप्रकोप तथा प्राकृतिकप्रकोपको बेला विपत व्यवस्थापन सम्बन्धि काम गर्न राजनीतिक दलका भातृसंगठन देखि स्थानीय युवाहरुसंग समन्वय गरेर जान आह्वान गरे । उनले भने, भातृसंगठनका युवा साथिहरुलाई चुनावमा मात्रै जिम्मेवारी नदिएर विपत व्यवस्थापनमा समेत सहभागी गराउनुपर्छ ।”

यस्तै, विपत व्यवस्थापनमा आवश्यक पर्ने उद्धारका औजारहरु तथा सुरक्षा सामाग्रीहरु वडा स्तरमै खरिद गर्न वडाअध्यक्षहरुलाई अध्यक्ष केसीले निर्देशनसमेत दिएका थिए ।