“विभेद”

everest kitchen

लघुकथा – विभेद

कल्पना पौडेल ‘जिज्ञासु”

महिला अधिकार कर्मिहरुले आयोजना गरेको कार्यक्रममा सर्मिला र रमेश दुवै दम्पतिलाई बिशेष अतिथिको रुपमा बोलाइएको थियो । एकदिन भएपनि घरको कामबाट छुटकारा पाइने , कार्यक्रममा धेरै साथीहरु सँग भेट हुने र महिला हकअधिकारको बिषयमा आफुले थप जानकारी पाउने खवरले सर्मिला खुशीले गदगद् थिइन् ।

बिहानैदेखि घरको काम धन्दामा लागिन् । बोलाइएको समयमै पुग्नको लागि हतारिदै तयार भएर रमेशको सामुन्ने गईन् । रमेश नेपाली दौरा सुरुवालमा ठाँटिएर बाहिर निस्किनै लागेको रहेछ ।

सर्मिलाले आफु पनि सँगै कार्यक्रममा जाने कुरा गरिन् । रमेशले झर्किंदै भन्यो ‘ घरमा यति धेरै काम छ । तँ किन जान पर्यो ?त्यहाँ गएर पो के गर्छेस र ? म हिंडे भइ हाल्यो नि ! बुवा आमाको ख्याल गरेस् तलका लामा गरामा जोताउनु पर्ने छ मल बोकेर सक्नु आज भन्दै छाता ओडेर कार्यक्रम तर्फ लाग्यो ।

महिलाको कार्यक्रम भएता पनि उपस्थिति पुरुषको बढी थियो । कार्यक्रम सुरु भयो । बिभिन्न बक्ताहरुले आ_ आफ्ना बिचार राखे । रमेशको बोल्ने पालो आयो ।भाषणमा उसले महिला, पुरूष समान भएको , महिलाहरू घरबाहिर पनि अघि बढनुपर्ने, राज्यले दिएको अधिकार प्रयोग गर्नुपर्ने विचार राख्यो । तालीले हल गुन्जियो । केहि महिलाहरु कानेकुसी गरे रमेश कि श्रीमती कति भाग्यमानी ! हाम्रो श्रीमान पनि यस्तै बुझ्ने भएको भए
कार्यक्रम सकियो । घर गयो र भित्र सोफामा बसेर खुट्टा टेबुलमा पसार्दै सर्मिलालाई आवाज दियो । ए ! कता गई यो आइमाइ? एक गिलास पानी लिएर आइज त छिटो ।