कमाएको रकम बाट केही सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ – भुपु खेलाडी शाही

everest kitchen

बुवा भिम बहादुर शाही र माता पुर्ण कुमारी शाहीको कोखबाट बिक्रम सम्बत २०१५ असार मा जन्मनु भएका अर्जुन बहादुर शाही आफ्नो मुमापट्टिका साँहिला सुपुत्र हुन । आफ्नो जिन्दगीको गाडी चलाउने क्रममा कहिले भारतिय सेनाको जागिर त कहिले हङकङ , कहिले युके बसाई गर्दै आउनु भएका उहाँ जहाँ गएपनि आफू जन्मेको हुर्केको माटोप्रतिको लगावमा कत्तिपनी कमि आएन । गाउँ र गाउँले प्रति हमेशा चिन्तित रहने, खेलकुदका पारखी र गाउँको उन्नती प्रगतिमा सदा हातेमालो गर्दै आइरहेका उनको मानविय सेवामा पनि उत्तिकै संवेदनशिल भएर सहयोगी बन्दै आइरहेका छन। प्रस्तुत छ, आकर्षक व्यक्तित्वको धनी , एउटा सफल खेलाडी र समाजसेवि अर्जुन बहादुर शाही सँग लाहाचोक एक विविधता अनेक नामक पुस्तकका सम्पादक तथा हिमाल टाईम्सकर्मी राजु क्षत्री अपुरो बिचको संक्षिप्त भलाकुसारी:-

,नमस्कार बुवा , यहाँलाई स्वागत छ। मेरो पहिलो प्रश्न खेलबाटै शुरु गरौं । हजुर आफ्नो समयको फुटबल , भलिबल र बास्केटबलको पोख्त खेलाडी , खेलकुदप्रती के कसरी रुचि लिन पुग्नु भयो ?बताइदिनुहोस् न।

— मेरो पनि सबैलाई हार्दिक नमस्कार , वास्तवमा भन्नू पर्दा म सानोमा निकै अल्छी थिएँ । सुताहा प्रवृत्तिको थिए। पढाइलेखाईमा पनि त्यति ध्यान जान्थेन। गाउँको खेल मैदानमा मेरा अग्रज दाजुहरू बेद बहादुर शाही , कमल पौडेल नारायण शाही ,श्री बहादुर घले लगायतका खेलाडीहरू खेलेको देखेर म निकै प्रभावित हुन्थेँ । त्यतिबेला हामी टालाको बल खेलेर सिक्न थालेका थियौँ । जुत्ता लगाएर खेल्ने चलन थिएन। कहिले आँगनमा, कहिले धान काटेपछि खेतमा नाङ्गो खुट्टा नै खेल्थ्यौं। औंलाका नङ्ग भाचिएको पनि चाल पाउँदैनथ्यौँ । युवास्थामा प्रवेश गरियो। त्यतिबेला लाहुरे हुनेलाई बढी सम्मान इज्जत गरेको पाइन्थ्यो र मलाई पनि लाहुरे हुने हुटहुटि जाग्यो। म भारतीय सेनामा भर्ती भएपछि मेरो खेलकला देखेर मलाई फुटबल टिम भित्र समाबेश गरियो । अग्लो कदकाठीको भएपछि बास्केटबल र भलिबल सिक्ने र खेल्ने मौका मिलिरह्यो। बिषेशत म फुटबल र बास्केटबल मै मेरो युवा लाइफ बितेको हो।

,आफ्नो खेलजिवनमा भएका कुनै अविश्मरणिय क्षण भए बताइदिनुहोस् न।

— भारतिय सेनामा खेल्दै गर्दा मैले स्पेशल प्रमोशन पाएको थिए । समकालीन साथीहरू बिच एक तह बढुवा हुनुपनि खुशिको क्षण नै थियो। एउटा अविस्मरणीय क्षण, एकजना गुरु जि को तिखा बचनले ममा इख पैदा हुँदै गयो र १५ दिनको कडा ट्रेनिङ पछि म टिम ११ भित्र परेर खेलेको थिएँ ।

त्यतिबेला कै कुरा हो। म र माइलो बुवाका छोरा बिनोद शाही छुट्टिमा आएका थियौं । त्यो समयमा अहिले जस्तो कप शिल्ड भन्ने त्यति हुन्थेन। गाउँ गाउँ बिच मैत्रीपुर्ण म्याच हुने गर्दथे।हाम्रो प्रतिस्पर्धा प्राय हेमजा सँग हुन्थ्यो। २०३८ तिर हुनुपर्छ । हेमजाले च्यालेन्ज दिएको थियो र सिङ्गो गाउँ नै उल्टिएर आएको थियो।त्यतिबेला बिनोद शाहीले ह्याटि्रक गरेका थिए भने मैले पनि व्यक्तिगत स्कोर निकाल्दै हेमजालाई ६-३ गोलको अन्तरले पराजित गरेका थियौँ ।

आफ्नो गाउँलाई जिताउन पाउँदा त्यो पनि एउटा अविस्मरणीय बनेको छ। त्यसको साथ साथै लाहाचोकमा रनिङ सिल्ड प्रतियोगिता गराउन पनि मेरो अहम् भुमिका रहेको थियो। त्यतिबेला देउराली स्पोर्ट्स क्लब बनाइएको थियो। अँ अर्को एउटा क्षण , भेडावारिको रनिङ्ग सिल्ड प्रतियोगितामा तेस्रो वर्षमा सिल्ड पच गर्न नदिन अनेकौं तिकडम गरेको आयोजकको चाललाई किनारा लगाउँदै रनिङ्ग सिल्ड कब्जा गर्न सफल भएका थियौँ ।

लाहाचोकले ठूलो प्रतियोगिता जितेको त्यो क्षण पनि यादगार क्षण बनेर रहेको छ। त्यतिबेला हामी भेट्रान जस्तै भएका थियौँ । फाइनलमा मनोज शाही , अर्जुन अधिकारी , राजेश घले, जीवन शाही आदि भाइहरूले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। यो कुरा २०५०-५१ तिरको हुनुपर्छ ।

कतिपय व्यक्तिहरू आफ्नो गाउँ छाडेर गएपछि फर्केको पाइँदैन। साथ र सहयोग को त पर कै कुरा भयो। अझ यसो भनौँ , उनीहरूमा गाउँ प्रतिको लगावमा कमि हुँदै गएको पाइन्छ। यस्ता व्यक्तिहरूलाई के भन्न चाहानु हुन्छ ?
उत्तर:- त्यही माटोमा जन्मियो , त्यही हुर्कियो बढियो। त्यहाँको डाँडापाखासँग मितेरी लगाइयो। त्यहींको मुलको पानी खाइयो। हो , समय र परिस्थितिले रोजगारको शिलशिलामा बाहिर बस्नु परेता पनि मन , मुटु र मस्तिष्क हमेशा आफ्नो गाउँ रहिरहेको हुन्छ। म आफुले कमाएर बचाएको थोरै रकम सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ।

जहाँसम्म अरुको प्रसङ्ग छ, कतिपयले आफ्नो गाउँलाई माया गरिरहेकै देखिन्छन् पनि ।तर केही त्यस्ता पनि छन् जो बसाइँसराइ गरेपछि फर्केर हेर्न चाहाँदैनन् । त्यस्ता व्यक्तिहरूलाई के नै भन्न सकिन्छ र ! गाउँलेहरूले पनि किन र के का लागि सम्झिन्छन् र ? यसैमा एउटा प्रसङ्ग जोड्न मन लाग्यो। लाहाचोक कै भूमिमा जन्मे हुर्केका मेरा अग्रज दाजु ढलक बहादुर शाही जो खेलाडी पनि हुनुहुन्थ्यो । उहाँ जहाँ गएपनि जहाँ बसेपनि आफ्नो माटो सम्झेर चाडपर्व मेला महोत्सव आदिमा टुप्लुक्क आइहाल्नु हुन्थ्यो। उहाँको आगमनमा हामीलाई पनि कति खुशी लाग्थ्यो। उहाँ मेरो प्रेरणाको श्रोत पनि हुनुहुथ्यो। दुर्भाग्य उहाँको कम उमेरै मै देहान्त भयो। गाउँलेहरू पनि बिसर्न नहुने उहाँप्रती हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु।

,गाउँको लागि धेरै साथ र सहयोग गर्दै आइरहनु भएको छ। आफुलाई गर्न मन लागेको कुनै इच्छा थियो कि ?

— कतिपय ठुला कामहरू सरकारी स्तर बाट भएका छन् ।कतिपय जनस्तरबाट भएको देखिन्छ।केहिमा संयुक्त रुपमा भएका छन् । केही समय अनुसार बिस्तारै हुँदै पनि जालान्। मैले आफ्नो युवा जीवन खेल क्षेत्रमा नै बिताएको हुँ . गाउँमा एउटा बास्केटबल कोर्ट बनाउने धोको थियो। त्यो चाहिँ नवीन चन्द्र ढकालको सहयोगमा बन्न लागेको सुनेको छु। त्यस कोर्ट राम्रो र दिर्घकालिन रुपले चलोस् भन्न चाहान्छु ।

यसको साथै म भलिबलप्रेमि पनि हूँ । पातिखोला मेलामा पनि मैले गाउँको प्रतिनिधित्व गर्दै केही प्रतियोगिता खेलेको पनि थिएँ । गाउँमा राम्रा भलिबल खेलाडीको अभाव सधैं भएको पनि देख्छु ,सुन्छु। युवाहरूलाई थप प्रोत्साहित गर्न र ट्रेनिङ गराउन एउटा भलिबल कोर्ट बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ। भलिबल एउटा लोकप्रीय खेल हो र यो इन्डोर गेम भएको हुनाले धेरै जग्गा पनि चाहिंदैन।

हामीकहाँ साँझ परेपछि कुनै पनि खेल खेल्न सकिने अवस्था छैन।अब समय बदलिएको छ। लाइट लगाएर साँझमा पनि खेल्न सकिने व्यवस्थित कोर्ट बनाउन पाए हुन्थ्यो । सबैको साथ र सहयोग पाए मैले पनि सकेको सहयोग गर्ने नै थिएँ । यसको लागि हामी एकजुट भएर एउटा भावि योजना बनाउन सकिन्छ।

,वैदेशिक रोजगार टिम लाहाचोकका प्राय गतिविधि नियालिरहनु भएकै छ।टिमलाई आवश्यक सहयोग गरिरहनु भएको यहाँले थप सुझाव दिनु पर्दा ?

— रोजगारी तथा पठनपाठनका लागि विदेशमा छरिएर रहेका गाउँले दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकतावद्ध गराउँदै गाउँ प्रतिको माया र लगावमा कमि हुन नदिन वैदेशिक रोजगार टिमले खेलेको यो भूमिका अति नै सराहनिय छ। खाडी मुलुकका साउदी ,कतार, दुबई , बहराइन, कुबेत अनि मलेसिया, मालदिप , कोरिया, हङकङ ,जस्ता देशमा कार्यरत भाइहरूले गरेको उल्लेखनीय कार्यप्रती म स्वयं खुशी छु। हामी जहाँ रहेपनि जुन देशमा रहेपनि प्रबिधिले एउटै आँगनमा उभ्याइदिएको छ। भाइहरूले गरेका धेरै कार्यहरू तारिफयोग्य छन् र हरेक कार्यमा साथ दिन पाउँदा म आफुलाई पनि आत्म सन्तुष्टि मिलेको अनुभुती हुन थालेको छ। यो प्रारम्भिक काल हो। यसलाई निरन्तरता दिने र थप उपलब्धिमुलक कार्यहरू गर्न पट्टि लागे बेश हुने थियो।बाँकी त समयलाई छाडिदिउँ ।

,माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले २०७५ र २०७६ मा गण्डकी प्रदेश स्तरिय फुटबल खेल सम्पन्न गर्यो। खेलमा आयोजक टिमले दुबै पटक बाजि मारे। एउटा पुरानो फुटबल खेलाडी भएको नाताले के भन्न चाहानु हुन्छ ?

— २०४३ तिरको कुरा हो। म छुट्टिमा आएको थिएँ । त्यति बेला लाहाचोकले रनिङ सिल्ड प्रतियोगिता राख्ने भनेर अभियान चलाएको थियो। अहिले जस्तो चन्दा उठाउन सजिलो थिएन। घर दैलो अभियान गरेर केही रकम जुटाइयो। भुपेन्द्र शाही ( राते) ले मौलोमा राँगो काट्दा दिइएको पुरस्कार पनि त्यसैमा समाबेश गराइयो। चाँदिको शिल्ड निर्माण गरेर खेल राखियो। त्यो नै लाहाचोकको प्रथम ठूलो गेम हुनुपर्छ । त्यतिबेलाको रनिङ्ग सिल्ड उपल्लो हेमजाले जितेको थियो क्यारे ! त्यसपछि बीचमा कुनै ठुला प्रतियोगिता हुन सकेन ।

लाहाचोकबाट २०५०-५१ तिर होला। चाँदनी युवा क्लबले प्रतियोगिता राखेको थियो। त्यसपछि मुलुकमा गृहयुद्ध शुरु भयो। दस वर्ष कुनै ठुला गेम आयोजना हुन सकेनन् । द्वन्द्वकालमा धेरै खेलहरू स्थानिय स्तर मै सिमित भए। मैदानको स्तरमा केही सुधार भएपछि नेपाल आर्मी टिमबाट खेलिसकेका राजु नेपाली, क्लबका अध्यक्ष निरज शाही , विशेष सहयोगी पान बहादुर जिसी लगायतका भाइहरूले ऐतिहासिक खेलको आयोजना गर्दा सिङ्गो गाउँ एकजुट भयो। आर्थिक रुपमा कमि हुन नदिन वैदेशिक रोजगार टिमले अभियान चलाउँदै महत्त्वपूर्ण भुमिका निभायो। युवा खेलाडीभाइहरूले ऐतिहासिक खेल जितेपछि सिङ्गो क्लब परिवारलाई र खेलाडीहरूसँग भेटघाट गरेर खुशी साटेको थिएँ ।

त्यतिबेला म मा हर्षको सिमा नै थिएन। दोश्रो वर्षको खेलमा भगवान शाही कोरियाबाट गएर उनी सक्रिय नभएको भए त्यो गेम हुन्थेन होला। राजेन्द्र गौतमले संयोजन गरेको दोश्रो प्रतियोगिता पनि जित हासिल गरेपछि हामी लाहाचोकवासिको शान अझै बढेको छ। एउटा फुटबल खेलाडी भएको नाताले म अति खुशी छु र भविष्यमा पनि मेरो साथ, सहयोग समर्थन रहिरहने प्रतिबद्धता जाहेर गर्दछु।

,अन्तमा मैले सोध्न भुलेका , छुटेका या आफुलाई मनमा लागेका थप केही कुराहरू भए खुलाइदिनुहोस् न।

–मैले माथी नै भनेँ । म भारतिय आर्मी जोइन हुँदा जिरो लेभल बाट शुरु गरेको हुँ, मैले ५ वटा फरक फरक गेममा इन्टर सर्बिसेज खेलेको थिएँ । यो भनेको सेना भित्रको नेशनल स्तर मानिन्छ। सुनेको छु। मेरो यो सानो इतिहास गोर्खा पल्टनको एउटा व्यारेकमा फोटो सहित सुरक्षित गरेर राखिएको छ अरे ! यस्तो इतिहास रच्ने मान्छे बिरलै भेटिन्छन् । यो मानेमा म भाग्यमानी साबित भएको छु।

जहाँ सम्म सहयोग गर्ने प्रसङ्ग आएको छ। एउटा मानविय नाताले सहयोग गर्नु आफ्नो कर्तव्य ठानेको छु। यस्ता सामाजिक कार्यमा मलाई घचघच्याउने विशेष गरेर महेन्द्र उमाबी परिवार , वैदेशिक रोजगार टिमका कवि क्षत्री , साथै वैदेशिक रोजगार टिम लाहाचोकले प्रकाशन गर्न लागेको दस्ताबेज पुस्तकमा मलाई स्थान दिएर आफुलाई लागेका केही कुरा राख्ने मौका दिनुभएको हार्दिक हार्दिक आभार व्यक्त गर्दछु।