लघुकथा – मिठो बोट
श्यामप्रसाद श्रेष्ठ
बुवाको पालो देखि रेख देख मलजल गरि हुर्काएको बोट।मलाइ याद छ, बुवाले भन्नू भएको – “हेर छोरा !यो बिरुवाको नाम मिठो बोट हो”।
तर बिडम्बना कहिले फलेन त्यो बुवाले आश गर्नु भएको मीठो फल,संधै फल्दथ्यो तितो फल। बुवा त्यही मीठो फलको आश गर्दा गर्दै धर्ती छोडेर जानू भयो।मैले पनि बुवाको अर्ति शिरोधार्य गरि बुवाले भने झैं नै मलजल गरि रहें,अब त कति मेहनत गर्नु?डाँडा माथि पुगि सकेको घाम झैं मेरो जीवन भइ सकेको छ,मेरो युग पनि त्यो मीठो फलको आश गर्दा गर्दै फगत जिवन बिताएं।
एकदिन मैले त्यो बोटको एउटा हाँगा छिचोलेर अनुसंधानको लागि कृषी कार्यालय पुगें।कृषि कार्यालयले परिक्षण गरि रिपोर्ट दियो।रिपोर्टमा लेखिएको थियो-बृक्षको नाम- मीठो बोट ,फल प्राप्त हुने- तितो फल।
रिपोर्ट अध्यन पश्चात तुरुन्तै घर फर्कें।सोचें-बुवाले सारा जीवन आशै आशमा बिताउनु भयो,मैले पनि बिताएं,तर अब म मेरो भाबी सन्ततिको जीवन पनि त्यो फलको आशाको त्यान्द्रोमा झुण्ड्याउन दिन्न भन्ने सोची छोराहरुलाइ भेला गराएँ।
“जसको सिङ छैन उसैको नाम तिखे”, तँलाइ मैले जमिनमा हैन ,मनमा रोपेको थिएं ,अब कति झुक्याउँछस?अब तँलाइ मन र जमिन दुबै ठाउँबाट उखेलेर फाल्छु भनि उखेलेर फालें र एउटा नयाँ फलको बिरुवा रोपें।