एनआरएनए एसिया क्षेत्रीय सम्मेलन थाइल्यान्डमा सुरु

everest kitchen

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैककमा सुरु भएको छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा एसियाली देशहरूमा बस्ने नेपालीहरुको उपस्थिति रहेको जनाएको छ ।

समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरूको भूमिका, महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा.बद्री केसीले जानकारी दिएका छन् ।

सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेर बहादुर कुँवर बैंकक आइपुगेका छन् ।

त्यस्तै, सम्मेलनमा विशिष्ट अतिथिको रुपमा माननीय सांसद डा.सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणि भद्र कँडेल शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगकी सदस्य मिर्जा अर्सद बेग, थाइल्याण्डका लागी नेपाली राजदूत गणेशप्रसाद ढकाल, व्यवसायी राजेन्द्र खेतान, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख ओम शर्मा लगायत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष, अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको संघले उल्लेख गरेकोछ ।

एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरू, यूरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष केसीले बताए ।

साथै, सम्मेलनमा संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा.बद्री केसी समेतको उपस्थिति रहेपनि पूर्वअध्यक्ष भवन भट्ट बाहेक अन्य अध्यक्षहरुको भने उपस्थिति नरहेको एक सहभागीले बताए ।