मीना चौलागाईंका चार मुक्तक (..लाल किल्ला रुकुम जस्तो..)

everest kitchen

मुक्तक -१
मन पनि लाल किल्ला रुकुम जस्तो लाग्छ
प्रेमको सानै हमला नि उखुम जस्तो लाग्छ
चल्नु पर्छ दुवै दिल गणतान्त्रिक पद्धतिमा,
नबोल्नु है बेस्सरी त हुकुम जस्तो लाग्छ !

मुक्तक-२
कहिले रातमा कहिले दिनमा रहनुपर्छ
प्रकृतिको नियम र अधिनमा रहनुपर्छ
नाफैनाफा मात्रै पनि नसोचौँ जिन्दगी
कहिले धनमा कहिले रिनमा रहनुपर्छ ।

मुक्तक-३
देशको पनि सिमानामा आली हरायो
ऋणैऋणले आजै घरको पाली हरायो
मुस्कुराऊ भन्छौ नि भन्नलाई त तिमी
ओठबाट नै खुशी फुल्ने डाली हरायो!

मुक्तक-४
सबै खाले चोटको उस्तै खत नहुन सक्छ
तिम्रो मेरो पनि सधै एकै मत नहुन सक्छ
मेरो दु:खमा टाढिनु तिमीले बाध्यता ठान्यौ,
तर सुखमा मलाई तिम्रै जरुरत नहुन सक्छ ।