लघुकथा : टुटेको आस्था
निलाञ्जला भारद्वाज
तीजको व्रतको दिन थियो l रातो पहिरनमा सजिएका व्रतालु दिदिबहिनीहरूको पशुपतिमा भीँड लागेको थियो । त्यही व्रतालुको भीँडभित्र म पनि उभिएकी थिएँ ।
भोको आँत, त्यसमाथि आगोले जस्तै च्वास्स पोल्ने भदौरे चर्को घाम , उफ्फ्फ्फ ! समय कटाउनै गाह्रो । लाइनमा अघिपछि सँगै उभिएका दिदिबहिनीसँग गफिन थालेँ । म भन्दा ठ्याक्कै अगाडि रातो पहिरनमा सोह्र श्रृङ्गारले धपक्क बलेकी एउटी बैनी उभिएकी थिइन् । नाङ्गो पैतला र हातमा पुजाको सामाग्री थियो उनको रूपको खुलेरै तारिफ गर्दै भनें “सुनिता बैनी, तपाईको यो फक्रिरहेको बैँस कहिले नओइलाओस् ! बहिनीलाई तीजको शुभकामना छ l”
एकछिनमै हामी बर्षौंदेखिको परिचित जस्तै गरेर गफ्फिन थाल्यौं । उमेरले २४ बर्षको मात्र भएपनि धर्मकर्ममा औधी विश्वास गर्ने उनी उमेर भन्दा निक्कै पाको र परिपक्व रहिछिन् । उनको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा उनले बताइन् “बिहे भएको २ बर्ष भइसक्दा पनि मेरो बच्चा छैन दिदी । श्रीमान, नेपाल आर्मीमा जागीरे हुनुहुन्छ। अहिले त घर नआएको पनि ९ महिना भैसक्यो l” उनको अनुहार अँध्यारो देख्नासाथ मैले विषय मोडे।
त्यत्तिकैमा भीँड पन्छ्याउँदै एक हूल आर्मी हामीतिरै आइरहेको देखियो । नजिकै आएर एकजना आर्मीले उनलाई सम्बोधन गर्दै भन्यो “तपाई हामीसँगै आउनुहोस् l” उ अक्क न बक्क परी । आर्मीले घेरा हालेर लगेपछि म पछिपछि लाग्दै सोधेँ, “तपाईहरू कहाँ लैजादै हुनुहुन्छ उनलाई ?”
हूलको सबैभन्दा पछाडि हिँडिरहेको एउटा आर्मीले सानो स्वरमा मलाई भन्यो , “ हिजो राती आर्मी र माओवादी बीच भिडन्त भएको थियो, जसमा…. !
उनलाई बागमतीको किनारमा लगियो। जहाँ गोलीले क्षतविक्षत भएको उसको श्रीमानको मृत शरीर लडिरहेको थियो ।