करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा

everest kitchen

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर लिलामी भएको सूचना पत्रिकामा प्रकाशित भएपछि मात्रै स्थानीयवासी झस्किए ।

साबिकको पाँचखाल गाउँ विकास समिति वडा नं। ४ र ७ हालको पाँचखाल नगरपालिका वडा नं। ३ र ६ को सिमानामा रहेको गौचरन, पानीघाट तथा मृत्यु संस्कारमा प्रयोग हुने जग्गालाई भू–माफियाले २०४८ सालमै दर्ता गराएको रहस्य बल्ल बाहिर आएको छ । मालपोतमा लेखापढीको काम गर्ने ऋषिराम दुलालको सेटिङमा उहाँकै ससुरा ढुण्डप्रसाद अधिकारीको नाममा सो जग्गा दर्ता भएको स्थानीय ज्ञानबहादुर थापाले बताए ।

“तत्कालीन पाँचखाल गाउँ पञ्चायतका प्रधानपञ्च दिननाथ ढुङ्गानाको सिफारिसमा छुट लगत दर्ता गरिदिन भनेर अधिकारीको नाममा सिफारिस भएको रहेछ,” उनले भने ।

तर २०४३ सालपछि प्रधानपञ्चमा मुक्तिनाथ अधिकारीसँग पराजित भएपछि पुरानो मितिमा सिफारिस गरेको हुन सक्ने आकलन आफूले गरेको थापाले बताए । स्थानीय उमेश बानियाँले भने, “त्यस बेला अरनिको राजमार्गको माथिल्लो भागमा १६ रोपनी १० आना र तल्लो भागमा १४ रोपनी तीन आना दर्ता गरेको रहेछ ।”

दर्ता गरेलगत्तै अधिकारीले छोरी चन्द्रकुमारी दुलाललाई सडकभन्दा माथिल्लो भागको १६ रोपनी १० आना जग्गा पास गर्नुभएको बानियाँले बताए । उनका अनुसार दुलाल जग्गा दर्ता गराउन मुख्य भूमिका खेल्ने लेखापढी गर्नेकी श्रीमती हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।