लघुकथा: समानता
बाँस्कोटा धनञ्जय
घरमा पुगेर लुगा फेर्दै गर्दा मेरो गोजीमा हात हालेर भएको पैसाको सानो बिटो झिकिन् । उनलाई पैसा गन्नु थियो ।
“आज कति जम्मा भयो ?´´
‘नौ हजार ।’ मैले नढाँटी उत्तर दिएँ । ‘सीट खाली थिए कि क्या हो ? कि भाडा तिरेनन् प्यासेन्जरले ?’ उनका मनामा अनेक प्रश्न उठ्न थाले । ‘यात्रु घटे बर्खायामले गर्दा ।’ मैले गलेको ढाड बाँया हातले हिर्काएर मालिस गर्दै उत्तर दिंदैरहें ।
‘हिजोसम्म त घटेका थिएनन् त ! अनि यहाँ त पाँच हजार मात्रै छ त?’‘पच्चीस सयको तेल हालेको । अनि अरु खाना खाएको ।’
‘यात्रु लगिदिँदा पनि पैसा लिई, त्यो होटेल्नी नखरमाउलीले ? यात्रु लगेर उसको होटलमा पसाइदिए पछि पनि त्यसलाई आफूले खाएको तिर्नु पर्छ भने अबदेखि अर्कैको होटलमा लानुपर्छ ।’
जुत्ताले पाइताला पोलिरहेको थियो । फुकाल्दै उत्तर दिएँ , “खाना खाएको तिर्नु पर्छ नि ! भात खाएर पैसा तिरेनन् है भनेर अरुलाई सुनाएको राम्रो लाग्दैन । ´´
‘तपाई धेरै आदर्शवादी बनिरहनु पर्दैन । मान्छेले देशै निल्दा त लाज शरम छैन, तपाईंलाई चाहिं एक छाक भात खाएको पनि शरम ? हामीले गर्दा त्यसले दिनमा कति कमाउँछे ? हिसाब गर्नु त !’
सर्ट पनि ह्वास्स गन्हाइरहेको थियो । फुकाल्दै भनें, ` सबैले ‘साहुजी भन्छन् । इज्जत पनि त फाल्नु भएन एउटी महिलासंग तर्क बितर्क गरेर ।’ ‘महिलासंग तर्क गर्दैनन् भनेर नै उसको लोग्नेले उसलाई गल्लामा राखेर ऊ भित्र लुक्छ । तर्क जोसंग पनि गर्दा हुन्छ । सबै बराबर ।’
पैंट फुकालें, अर्को हाफपैंट भित्रबाट ल्याएर लगाएँ , ‘तिमी धेर नबोल । सीमा हुन्छ नि बोल्ने ! एक छाक भातमा सायौं यात्रुहरुका अगाडि नाङ्गेझार बन्नु छैन । तिम्रा बा जस्तो होइन, अर्काको हलो जोत्न जाँदा कतिखेर भात दिन्छन् भनेर समयको औला भाँचेर बस्ने । आफ्नो हदमा बस । नबोलौं भन्दा भन्दै आज बाध्य भएर बोल्नु पर्यो । चिसो पानीसम्म पिउन पाको हैन ।’
“हैन के भयो ? मेरा मरेका बालाई किन बीचमा ल्याएको ? तपाईंका बाले पनि सुनपानी खाएका होइनन् । हैन, एघार बर्ष सम्म त यसरी ठूलो स्वरले बोल्नुभएको थिएन त मसंग ! के भयो आज ?´´
“तिमीले नै होइन महिला पुरुष बराबर, अनि समान भनेको ? अनि तिमीले मलाई जे पनि भन्न मिल्ने, अनि मैले नमिल्ने ? बराबर । अब खलाँसी हुने पालो तिम्रो । बराबर !´´