नेपाली राजदूतावास मलेसियाद्धारा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाइयो

everest kitchen

मलेसिया । नेपाली राजदूतावास मलेसियाले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाएको छ । असोज ३ गते मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटेल जेडब्लु मर्रियटमा एक कार्यक्रमको आयोजना गरि मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलेसियाका मानवसंशाधन उपमन्त्री दातुक एवाङ्ग बिन हशिमले मन्तव्य राख्दै राष्ट्रपतिको सुस्वास्थ, नेपाल सरकार र नेपाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गरेका थिए ।

त्यस्तै, सो अवसरमा कार्यवाहक राजदूत श्री मोति बहादुर श्रीसले पारस्परिक रूपमा मलेसियाका राजाको सुस्वास्थ, मलेसिया सरकार र मलेसियाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गरेका थिए ।

कार्यवाहक राजदूतले संविधान दिवसको महत्त्वबारे प्रकाश पार्दै “संविधानले नेपालको विविधतालाई सम्बोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सङ्कल्प लिएको व्यहोरा व्यक्त गरेका थिए ।

साथै उनले नेपालमा लगानीमैत्री उपयुक्त वातावरण रहेकोले लगानीकर्ताहरुलाई राजदूतावासले सहयोग र समन्वय समेत गर्ने हुँदा मलेसियाली तथा अन्य विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीगर्न आग्रह गरे । यस्तै, कार्यवाहक राजदूतले सांस्कृतिक, धार्मिक लगायत अन्य हिसाबले नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएकाले मलेसियाली नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो समेत गरेका थिए ।

कार्यवाहक राजदुत श्रीसले दुई देशका जनताबीचको सहकार्य र मित्रताका आधारमा स्थापित नेपाल र मलेसियाको सम्बन्धमा आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय लगायत अन्य बहुआयामिक क्षेत्रहरुमा सहकार्य बढाउनुपर्ने आवश्यकता समेत दर्शाग । यसका साथै उनले विभिन्न पेशा व्यवसाय तथा रोजगारको सिलसिलामा मलेसिया, ब्रुनाई, फिलिपिन्स, ईण्डोनेसिया लगायतका मुलुकमा रहनु भएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिकोलागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालय लगायत अन्य मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, मलेसियास्थित विभिन्न मुलुकका राजदूत लगायत अन्य कूटनीतिज्ञहरु, पत्रकार, उद्योगपति, व्यापारी लगायत मलेसियाको नागरिक समाजको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ मलेसिया एवं मलेसियामा रहेका नेपाली समुदायका सदस्यहरु, व्यावसायीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र मलेशियामा रहेका प्रवुद्ध नेपाली व्यक्तिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालको संविधान तथा नेपालको कलासंस्कृति, कलात्मक धरोहर लगायत नेपाल चिनाउने विशेष श्रव्यदृश्य सामग्रीको प्रस्तुति गरिएको थियो ।