मलेसियामा रहेका नेपालीहरुका लागि केही नयाँ काम गर्न मलेसिया आएको छु : राजदूत पौडेल

everest kitchen

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा रहेका नेपालीहरुका लागि केही नयाँ काम गर्न मलेसिया आएको बताएका छन । मलेसियाका लागि आवासीय राजदुतको रुपमा मलेसिया आएका पौडेलले एक कार्यक्रममाबीच मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुको सहकार्यमा नयाँ गर्ने बताएका हुन ।

आईतवार राजधानी क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा राजदुत पौडेलको लागि गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसिया , नेपाली व्याबसायी समाज मलेसिया र नेपाल आदिबासी जनजाति महासंघ मलेसियाको संयुक्त रुपमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै राजदूत पौडेलले दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने बताए ।

मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै नेपालीहरुको अधिकतम हित र सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिदै सुरक्षित गन्तव्य निर्माण गर्ने राजदूत पौडेलले बताए । साथै, उनले सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि प्राथमिकता दिने बताए ।

एनआरएन मलेसियाका अध्यक्ष बिनोद थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदुतावास मलेसियाका पदाधिकारी, मलेसिया स्थित विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी, श्रमिक लगायतको उपस्थिति रहेको थियो ।