कोभिड-१९ मा १६ हजारबढी आप्रवासी श्रमिकलाई पीएनसीसीको सहायता

everest kitchen

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले कोभिड-१९ महामारीको बेला १६ हजार भन्दा बढी पिडित आप्रवासी नेपाली कामदारलाई मानवीय सहयोग, सहायता गरेको उल्लेख गरिएको छ । बिहीबार काठमाडौं आयोजित पीएनसीसीको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अन्तर्गतको आईएलओ फन्डेट माईग्रेन्ट राईट एण्ड डिसेन्ट नेटवर्क प्रोजेक्टको सरोकारवालासंग सिकाई आदानप्रदान कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो ।

कोभिड-१९ महामारीको बेला मलेसिया, साउदी अरबीया, कतार, युएई लगायतका देशहरूमा १५ हजार ३० पुरुष र ९७२ महिलालाई प्रत्येक्ष रुपमा विभिन्न सहायता तथा सहजीकरण गरिएको पीएनसीसीले उल्लेख गरेको छ ।

त्यस्तै, संस्थाले गएको ८ बर्षमा कोभिड-१९ बाहेक अन्य विभिन्न १६ हजार २७३ पीडितलाई सहायता दिएको छ भने ९ हजार ४२४ पीडितको विभिन्न मुद्दामा सहयोग तथा सहजीकरण र १ हजार ११६ जनालाई आवासीय आश्रय दिएको छ ।

आप्रवासी श्रमिकका समस्या सहजिकरण सम्बन्धिका अहिलेसम्मका कामको समिक्षा तथा आगामी योजना बारे सल्लाह सुझाव आदानप्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको पीएनसीसीका आईएलओ कार्यक्रम संयोजक भरत नेपालले जानकारी दिए ।

संयोजक नेपालका अनुसार उक्त परियोजनाले मलेसिया तथा खाडीमा रहेका आप्रवासी कामदारहरुको स्वास्थ्य समस्यामा परामर्श तथा सहजीकरण, विभिन्न कानुनी जटिलतामा रहेका आप्रवासी नेपालीलाई आवश्यक सहायता तथा सहजीकरण, विभिन्न आप्रवासी श्रमिकका समस्याहरुबारे विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्की वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक डाक्टर लोकनाथ भुसाल , वैदेशिक रोजगार बोर्डका पूर्वअध्यक्ष राजन श्रेष्ठ, परराष्ट्र मन्त्रालय तथा श्रम तथा रोजगार मन्त्रालयका पदाधिकारीहरु, आईएलओ लगायतका विभिन्न दातृनिकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रवासी समन्वय समिति (पीएनसीसी) खाडी तथा मलेसियामा रहेका नेपालीहरुलाई सहयोग गर्दै आएको एक सामाजिक संस्था हो । यसका अध्यक्ष हुन: कुल प्रसाद कार्की । करिब ११ बर्ष साउदी अरबमा काम गरेर फर्केका उनी र उनी लागायतका साथीहरूले स्थापना गरेको पीएनसीसीले अहिले मलेसिया, साउदी अरब, कतार र युएईमा रहेका आप्रवासी नेपाली श्रमिक हितको लागि काम गर्दै आएको छ ।

संस्थाले वैदेशिक रोजगारमा गएर बिचल्ली परेका र आर्थिक अवस्था कम्जोर भएका कामदारहरुलाई काठमाडौंमा आवासीय आश्रय दिएर पुनस्थापनामा सहयोगसमेत गर्दै आएको छ ।