काठमाडौं । गंगा चौधरी नामले परिचित गंगा सत्गौवा थारूले स्वतन्त्र उम्मेदवार लड्ने घोषणा गरेकी छन् । नेकपा एमाले नेतृ तथा सांसद थारुले दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन ।
विहीबार फेसबुकमा एक स्टाटस लेख्दै गंगा सत्गौवा थारूले टिकट नपाएपछि दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन् ।
करिब दुइ साता पहिले गंगा सत्गौवा थारूले शान्ता चौधरीसँगको संयुक्त तस्विर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर्कालाई सघाउने निर्णय गरियो ।’
उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’
यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा सत्गौवा दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।