रुकुमका कांग्रेसलाई उम्मेदवार शर्माको सन्देश: तपाईंहरु दु:खी नहुनुहोस्

everest kitchen

रुकुम । रुकुम पश्चिमको निर्वाचन क्षेत्र नम्बर “ख” प्रदेशसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार राजकुमार शर्मा “आर्ट”ले गठबन्धन दल नेपाली काङ्ग्रेसका कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका शर्माले नेपाली काङ्ग्रेसलाई रुकुम बाहेकका अन्य निर्वाचन क्षेत्रमा सात वटा निर्वाचन क्षेत्रमा एकलौटी उम्मेदवारी दिन सहयोग गरेकोले आफुहरुले रुकुममा मात्रै एकलौटी पाएकोमा दु:ख नमान्ने आग्रह गरे ।

आगामी मंसिर ४ मा हुन लागेको संघिय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि चुनावी जनभेटघाट अभियान थालेका उनले शुक्रबार जिल्लाको त्रिवेणी -३ र ६ मा आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार शर्माले काङ्ग्रेसको भोटको पनि सम्मान गर्दै रुकुमेली र कर्णालीको जनभावना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

त्यस्तै उनले सो अवसरमा भने, “समाजवाद भनेकै सुख र खुसी हो, सुख प्राप्त आर्थिक सम्पन्नताले हुन्छ भने खुसी प्राप्त समाजमा सम्मानता, हार्दिकता, सुशासन लगायतका कुराहरूले प्राप्त हुने हुदा यसलाई केन्द्रमा राखेर सिंगो रुकुमेली, कर्णाली र नेपालका लागि काम गर्नेछु ।

यस्तै, उक्त भेटघाट कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट कर्णाली प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार झक्कु प्रसाद घर्तिले आफ्नो पार्टीले ल्याएको व्यवस्थामा पिछडिएका जाति, समुदाय, लिङ्गको सम्मान सहभागिताको सुनिश्चितता गरेकोले आफ्नो समुदायको कोटाबाट आफू समानुपातिक उम्मेदवार बनेको बताए ।

समानुपातिक उम्मेदवार भएपनि सिंगो रुकुमेली र कर्णालीका जनताको दैनिकीका कठिनाइ तथा आवश्यकता बारे राम्रोसँग थाहा भएकोले निस्वार्थ रुपमा जनभावना र आफ्नो समुदायको हकहितको लागि लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्दै यसपटक प्रत्येक्ष र समानुपातिक भोट माओवादी केन्द्रलाई दिन घर्तीले आग्रह गरे ।

साथै, माओवादी केन्द्रकै तर्फबाट कर्णाली प्रदेशसभा सदस्यको लागि समानुपातिक उम्मेदवार मिलन खडकाले रुकुम पश्चिममा प्रत्येक्ष तर्फ गठबन्धनको साझा उम्मेदवारहरु माओवादी केन्द्रका उम्मेदवारहरु रहेकोले जित निश्चित भएपनि भारिमतले जिताउन आग्रह गरिन ।