२८ लाख रुपैयाँसहित अख्तियारद्वारा इन्जिनियरसहित दुईजना पक्राउ

everest kitchen

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २८ लाख घूस वापतको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाई डिभिजन नम्बर–४ बागमतीका इन्जिनियरसहित दुई जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सहसचिव) श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

आयोगको टोलीले इन्जिनियर सत्याल र प्लम्बरले सेवाग्राहीबाट लिँदै गरेको १६ लाख नगद र १२ लाख बराबरको चेक बरामद गरेको हो । आरोपीहरुले ईन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको उपभोक्ता समितिसँग रकम भुक्तानी दिनुअघि घुस मागेका थिए । सोबारेको उजुरीपछि अख्तियारबाट गएको टिम मन्थलीमा अपरेशन गर्न पुगेको थियो ।

मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयसँगै जोडिएको निवासबाट इन्जिनियर र प्लम्बरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।