गजल
जुनु घिमिरे –
नाक कानको गहना बेचेर स्कुल पसेको बिर्सिएछ
भकारीका धान बेचेर शहरमा बसेको बिर्सिएछ
गोरु, हलो मात्रै होइन विद्वान शब्द पनि जाने बाले
साहुले साँवा भन्दा दोब्बर ब्याज डसेको बिर्सिएछ
शहर बसेर गाउँ फर्कदा झुम्री लाग्छआमा उस्लाई
शहरमा भात पाक्न गाउँमा पटुका कसेको बिर्सिएछ
उस्का जवान आँखाले “बा”लाई सधैं तन्नेरी मात्रै देख्छन्
बुढो सिमलको रुख जस्तै बाका दाँत खसेको बिर्सिएछ
बुढेसकालको लौरो सम्झी जतन गरेका थिए बाआमाले
यता छोरोले कर्तव्य भुलेर कुलतमा फसेको बिर्सिएछ