एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा विद्यार्थी

everest kitchen

दाङ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् । निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

एमालेकी उम्मेदवार वलीसहित दाङ ३ ‘ख’ का उम्मेदवार हुकुम बस्नेतले आफ्नो चुनावी अभियानका क्रममा केहीदिन अघि दाङको एक विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकहरुलाई राखेर भेला गरेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्वीर दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविको रहेको खुलेको छ तस्वीरमा उम्मेदवार वलीले स्कुलका विद्यार्थीलाई राखेर भेला गरेकी छिन् । जहाँ विद्यार्थीले हातमा चुनावी प्रचारका सामग्री समाएको देखिन्छ ।

विद्यालय श्रोतका अनुसार उम्मेदवार वली र बस्नेतले विद्यार्थीलाई चुनावी प्रचार सामाग्रीसमेत बाँडेका थिए । सुरुमा विद्यार्थीसँगको उत्त फोटो कोमल वलीको सचिवालयले नै फेसबुकमा सार्वजनिक गरेको थियो । तर केही समयपछि उत्त फोटो हटाएको थियो ।