सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

everest kitchen

काठमाडौं । सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन् ।

समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन् । यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थलमध्ये ११ अति संवेदनशील, २६ संवेदनशील र ३० कम संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । सुरक्षा समितिले निर्वाचन क्षेत्र नं १ (क) मा सात वटा अति संवेदनशील, २४ संवेदनशील, (ख) मा र दुई अति संवेदनशील, ३६संवेदनशील र तीन मतदानस्थललाई कम संवेदनशीलको सूचीमा राखेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ (१) मा सात अति संवेदनशील र संवेदनशील मतदानस्थल छैनन् भने कम संवेदनशील २४ मतदानस्थल रहेका छन् । त्यस्तै (२) मा ११ अति संवेदनशील, २६ संवेदनशील र छ मतदानस्थल कम संवेदनशील छन् । निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदानस्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदानस्थल वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रजिअ रिजालले बताए ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको जिल्लामा संवेदनशीलरुपमा लिइएका मतदानस्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको पनि प्रजिअ रिजालले जानकारी दिए । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत जिल्लामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालन भइसकेको पनि प्रजिअ रिजालले जानकारी दिए ।

सुर्खेतको पूर्वसिम्ता गाउँपालिकादेखि पश्चिम चौकुने गाउँपालिकासम्मका सुरक्षा संवेदनशीलता मानिएका मतदानस्थलको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ ।