लघुकथा :- पहिलो माफि
मिथिला अधिकारी
हे राम ! कस्ता कस्ता मान्छेसंग जोडिन पुगिन्छ हो यो दुनियाँमा ! दिक्क मान्दै सरिता एक्लै बरबराउँदै थिइन् ! उनका श्रीमान् पनि टुप्लुक्क आइपुगे र भने “त्यसैले त फेसबुक धेरै नचलाउ भन्छु तिमी मान्दिनौ,सबै लोग्ने मान्छे तिम्रो श्रीमान जस्तै इमान्दार, सोझो र एक नारिको मात्र भक्त को हुन्छ र ?”
” हुन त हो हेर्नुस न, मैले आफ्नु नाम र फोटोहरु नक्कली राखेर अर्को आइडी चलाएकी थिएँ ,मलाई त एकजना पुरुषले कति दिनदेखि म तिमीलाई असाध्य माया गर्छु,म तिम्रो लागि जे पनि गर्न सक्छु,मर्न पनि तयार छु म तिमी बिना बाँच्नै सक्दिनँ, तिमि भन्छ्यौभने म आफ्नी श्रीमतीलाई पनि छोडीदिन सक्छु, मलाइ स्विकार गर माया ! आइ लभ यु भेरी मच पो भन्छ त ! कस्तो बदमास रैछ, आफ्नी श्रीमतीलाई पनि छोडुँ पो भन्छ त !
श्रीमान बोले,” ओहो !त्यस्ता बदमासलाई त छोड्नु हुन्न ! ल त्यसलाई भिडिओ कल गरिहाल त ! त्यो दुष्ट पापीको अनुहार हेरूँ । हस भन्दै श्रीमतीले फेसबूक खोलिन् र फोन लगाइन् ।
श्रीमानको फोनको पनि घन्टी बज्यो ।पख है सरु ,मेरो अफिस बाट इमर्जेन्सी कल आयो तिमी त्यो संग बोलेर अल्मल्याउँदै गर है म नआइन्जेल ! श्रीमान् फोन उठाउँंदै र बोल्दै घर पछाडितिर लागे । भिडिओ अन गरन मेरी रानी,आफुलाई हेर्न कति हतार भैसक्यो भन्दै गर्दा भिडियो अन भयो। स्क्रीनमा आफ्नो श्रीमान देखेर उनी छक्क मात्रै परिनन् । झण्डै बेहोस नै भइन् ।
सत्ययुगमा निर्दोष सितालाई त बनवास जानू परेथ्यो ।अब कलियुगमा तपाईं बनवास जान तयार हुनुहोस् ” रिसले रन्थनिएकी उनले ठाडो भाषामा प्रयोग गर्दै फोन राखिन् ।
केहि समय अघिको आफ्नो श्रीमानको अनुहार सम्झँदै उनी एकपटक मुसुक्क मुस्कुराइन् ।