कम्बोडियामा निराकारको मृत्यु : बेलैमा उद्धार नभएको परिवारको गुनासो

everest kitchen

काठमाडौं । कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् ।

तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड गएका उनी घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए । शुक्रबार राति उनी बसेको होटलमा भीषण आगलागी भएको थियो । मृतकका बुबा एवम् विर्तामोड–१ का वडाअध्यक्ष अग्नि पाण्डेले होटलको १२ औँ तलाको कोठामा बास बसेको बेला दुःखद घटना भएको बताए । बेलैमा उद्धार नहुँदा छोराले मृत्युवरण गर्नुपरेको उनले गुनासो गरे । बिहीबार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरासँग सम्पर्क विच्छेद भएको उनले जानकारी दिए ।

थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृतकको शवको तस्बिर नेपालस्थित मृतकका आफन्तलाई पठाएर शवको सनाखत गरिसकेको छ । हाल कम्बोडियामै रहेको शवलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृतकका बुबा अग्निले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्याण्ड गएका थिए । उनी केही दिनमै नेपाल फर्किने तयारी थियो । यही पुस १५ गते बिहान आगलागी भइरहेको होटलको १२ औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा उनको मृत्यु भएको थियो ।

आगलागी सुरु भइसकेपछि करिब चार घण्टाको अवधिमा उनले आफू आगलागीका कारण अप्ठ्यारोमा फसेको भन्दै काठमाडौँस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२ औँ तलामाथिको झ्यालबाट हाम फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिएका थिए । परिवारले उनलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उनका भाइ निश्चल पाण्डेले बताए ।

घटनामा उद्धारको प्रयास नभएपछि बाँच्नका लागि हामफाल्दा निराकारको ज्यान गएको पाण्डेले बताए । घटना भएका बेला मृतकका बुबा अग्नि र साइलो भाइ झापाको विर्तामोडस्थित निवासमा थिए भने आमा र कान्छो भाइ काठमाडौँस्थित निवासमा थिए ।

“बास बसेको होटलमा आगलागी भयो, धुवाँ फैलिँदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो,” मृतकका बुबा अग्निले शुक्रबार रातिको अवस्थाबारे जानकारी दिँदै भने, “राति करिब चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उद्धार गरेर बचाउन आउँछन्, धैर्य गर् छोरा भनेर ढाडस दिइरह्यौँ । तर साढे ४ बजेदेखि फोन सम्पर्क टुट्यो ।”

कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूतावासका अधिकारीहरूले आगलागीबाट बाँच्नका लागि होटलको १२ तलाबाट हामफाल्दा चोटपटक लागेर मृत्यु भएको जानकारी दिएको उनले बताए ।

शोकाकुल बन्यो बिर्तामोड
युवा व्यवसायी निराकारको कम्बोडियामा आफू बसेको होटलमा भएको आगलागीबाट ज्यान जोगाउन हामफल्दा मृत्यु भएको खबर फैलिएपछि बिर्तामोड शोकाकुल बनेको छ । स्थानीयवासी मृतकको घरमा भेला भएका छन् । झापामा रहेका मृतकका बुबा अग्नि घटना सुनेलगत्तै काठमाडौँ गएका छन् । काठमाडौँमा मृतककी आमा र अरू भाइहरू रहेका छन् ।

झापाको घरमा रहेका मृतकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपतका बेला उद्धारको भरपर्दो कुनै प्रबन्ध नभएकामा गहिरो खेद व्यक्त गरे । “चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उद्धार पर्खिएर बस्नुभयो, कुनै आश बाँकी नरहेपछि बाँच्नका लागि १२ औँ तलाबाट हाम फाल्नुपर्यो,” उनले भने, “बेलैमा उद्धार हुन सकेको भए दाजु बाँच्नुहुन्थ्यो ।”

सङ्गीतकार शिवशङ्कर थापाले अकल्पनीय घटनाले विर्तामोडबासी स्तब्ध भएको बताए । मृतक निराकार सङ्गीतकार थापाका छिमेकी हुन् । “सानैदेखि असल र मिहिनेती स्वभावको हुनुहुन्थ्यो निराकार भाइ,” थापाले भने, “भरपर्दो उद्धारको व्यवस्थासमेत देखिएन, मृतकले झ्यालमा बसेर बोलेको भिडियोले संसारभरिका नेपालीलाई स्तब्ध बनाएको छ ।”