त्रिवेणीमा पालिका र वित्तीय संस्थाका कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल: १३ वर्षीय रेफ्री

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कर्मचारी र गाउँपालिका भित्रका वित्तीय संस्थाका कर्मचारीबीचको मैत्रीपूर्ण फुटबलमा गाउँपालिका विजयी भएको छ । बुधबार राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा गाउँपालिका कर्मचारी टिमले वित्तीय संस्थाका टिमलाई ६-३ गोलअन्तरमा पराजित गरेको हो ।

गाउँपालिकाका सीपी रावलको सुरुवाती गोलबाट अग्रता लिएको गाउँपालिकाले ६ गोल गरेको थियो । खेलमा गाउँपालिकाका लागि रमेश पुन एक्लैले ३ गोल गरेका थिए भने सुशील शाही र भुवन पाण्डेले एकएक गरेका थिए ।

त्यस्तै, वित्तीय संस्था तर्फको टिमका लागि बिकास सिङ ठकुरी, दिपेन्द्र खत्री, प्रकाश बिष्टले एकएक गोल गरेका थिए ।

स्थानीय १३ वर्षीय डिभिजन पुनले प्रमुख रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने १३ वर्षीय आशिष् महर र ११ वर्षीय प्रदिप बिकले सहायक रेफ्रिको रुपमा सहयोग गरेका थिए । उनीहरूलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गरिएको थियो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले विदाको दिनमा यस्ता कलात्मक तथा सिर्जनात्मक क्रियाकलाप गर्ने आफुहरुको एउटा उद्देश्य रहेकोले खेल प्रोत्साहनको काममा आफ्नो ध्यान रहने बताए ।

खेल स्वास्थ्य जीवनका लागि आवश्यक क्रियाकलाप भएकोले सबैले कामसंगै खेलकुदमा पनि ध्यान दिनुपर्ने बताए । उनले खेलमा सहभागी तथा सो अवसरमा उपस्थिति सम्पुर्णलाई धन्यवाद दिदै आफुहरुले स्वइच्छाले रकम उठाएर खेलकुद आयोजना गरेको जानकारीसमेत दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, त्रिवेणी-३ का वडाअध्यक्ष दिपेन्द्रकुमार ओली, कार्यापालिका सदस्य चाँदनी पुन लगायत विभिन्न कर्मचारी, स्थानीयहरुको उपस्थिति रहेको थियो ।