देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

everest kitchen

काठमाडौं । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ ।

विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार रातभर जाग्राम बस्नेहरु चितवन र तनहुँतर्फ गरी २० हजारभन्दा बढी रहेका थिए ।

तनहुँतर्फका गलेश्वर, महेश सन्यास, हरिहर आश्रमका सभाकक्षसमेत भरिएका थिए । यस्तै दुवैतर्फका विद्यालय, मन्दिर, सत्तललगायत रुखमुनिसमेत भक्तजनले भरिएको उनले जानकारी दिए । भगवान्को नाम जपेर साँझदेखि भजनकीर्तन गर्दै दीप प्रज्ज्वलन गरेर खाली ठाउँमा समेत भक्तजन बसेको उनको भनाइ छ ।

मेलालाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन् । अध्यक्ष अधिकारीको भनाइमा झण्डै एक हजार सुरक्षाकर्मी देवघाट क्षेत्रमा परिचालित छन् । नदीमा नुहाउने र ¥याफ्टिङका क्रममा दुर्घटना भई हालेमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र क्षेत्र विकास समितिका स्वयंसेवक तयारी अवस्थामा राखिएको छ ।

सवारी व्यवस्थापनका लागि आँपटारी र जुगेडीबाट जाने र रामनगरबाट फर्किने गरी व्यवस्थापन गरिएको छ । देवघाटका वारि र पारि दाताहरूले साँझदेखि नै चिया, जेरीपुरी, खानासमेत निःशुल्क खुवाइरहेको उनले जानकारी दिए । उहाँले भन्नुभयो, “गलेश्वर आश्रममा मात्रै शनिबार साँझबाट दुई हजारभन्दा बढीलाई खाना खुवाइसकिएको छ । अन्य आश्रमहरूले पनि निःशुल्क भोजन गराइरहेका छन् ।” चिसो निकै रहेकाले ठाउँ–ठाउँमा धुनी बालेर रातभर भजनकीर्तन भएको उनको भनाइ छ ।