मनहरीमा ८ गते सोनाम ल्होछार विशेष कार्यक्रम हुने

everest kitchen

मनहरी । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धशान्ति हरित पार्क परिसरमा यहि माघ ८ गते सोनाम ल्होछारको दिन सोनाम ल्होछार मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

मंगलबार पत्रकार सम्मेलन मार्फत तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानले ल्होछार संस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

तामाङ पत्रकार संघ मकवानपुर र ल्होछार मेला आयोजक मुल समारोह समिति सांगे छ्योइफेल गुम्बाको संयुक्त आयोजना मनहरीमा मञ्जुश्री संवत् २८५९ औं ह्योई ल्हो (बिरालो वर्ग) सोनम ल्होछार तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक सुरेश मुक्तानले तामाङ जातिको संस्कार संस्कृति, भेषभुषा र भाषाको संरक्षणका लागि ल्होछार पर्व मनाउन लागिएको बताए । उनका अनुसार ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता तथा तामाङ समुदायबीच जागरण ल्याउन उक्त कार्यक्रमले सहयोग पुग्ने दावी छ ।

कार्यक्रममा तामाङ कलाकारहरुको गायन, नृत्य, तामाङ भेषभुषा र खानाका स्टलहरु र तामाङ संस्कृति र ल्होछार पर्वको सन्देशमुलक प्रवचन रहने मोक्तानले बताए । कार्यक्रममा कलाकारहरु हरी योञ्जन, सुन्दर लामा, रविन कुमार चेपाङ, प्रकाश तामाङ,उर्मिला प्रजाको र आस्था कला मनहरीको प्नि प्रस्तुति रहने बताएको छ ।

यस्तै ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिने भएको छ । पत्रकार सम्मेलनमा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङको प्रमुख आतिथ्यता तथा ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक शुरेश मुक्तानको सभाध्यक्षतामा भएको थियो।

त्यस्तै उक्त पत्रकार सम्मेलनमा तामाङ पत्रकार संघ बागमती प्रदेश कमिटी उपाध्यक्ष ज्ञानेन्द्र तामाङ,समाज सेवि खुशी लाल मोक्तान,दोर्जे लामा लगायतको उपस्थिति रहेको थियो।