आवधिक योजनाको खाका कोर्दै त्रिवेणी गाउँपालिका

everest kitchen
त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम )

विपेन उलङगे
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यले गाउँपालिकामा आवधिक योजना निर्माण तथा प्राथमिकरण गर्न लागेको छ । सो कार्यका लागि बृहत रुपमा योजना संकलन, सुझाव संकलन र गाउँपालिका भित्रका सम्पूर्ण तथ्यांक संकलन गर्न लागेको हो ।

यसै सन्दर्भमा त्रिवेणीमा बुधबार र बिहिवार गरी दुईदिने आवधिक याेजना निर्माणका लागी सुझाव संकलन तथा विकास प्राथमिकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वजनप्रतिनिधि, जनप्रतिनिधि, त्रिवेणी भित्रका विषयगत शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको गाउँपालिकाका योजना शाखा प्रमुख अमरबहादुर पुनले जानकारी दिए ।

पुनका अनुसार कार्यक्रममा विकास निर्माण र त्यसको प्राथमिकरणको बारेमा छलफलसमेत भएको थियो भने दशवटै वडाका जनप्रतिनिधिहरुले आ-आफ्नो वडाको रिपोर्टिङ तथा विभिन्न योजना माग गरेका थिए ।

सो अवसरमा कार्यक्रममा सुझाव राख्दै कर्णाली प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा अनलले यो कार्यक्रम दलगत नभई नितान्त समग्र विकास केन्द्रित कार्यक्रम भएकोले सबैले हातेमालो गरेर जानुपर्ने बताए । १० वर्षमा रुकुममा गरिबी अन्त्य गर्ने घोषणा अनुसार गरीबी कसरी अन्त गर्ने भन्ने विषयमा केन्द्रित रहेर यस्तो कार्यक्रम आफुहरुले सबै पालिकामा लागु गर्नेगरि सुरु गरेको उनले बताए ।

रुकुममा झण्डै १८ सय किलोमिटर बाटो खनेर पनि नपुगेको भएपनि अब आवश्यकता अनुसार नयाँ बाटो खनेपनि विशेषत गुणस्तरीय पुर्वाधार निर्माण तिर लाग्नुपर्ने बताउदै, कार्यक्रममा उनले भने, ” राजनीति एकीकृत रुपमा गर्न गरौं, भोटको लागि गरिने राजनीति गर्नै परे भोट गर्नेबेलामा मात्रै गरौँ अब विकासको राजनीति गरौं ।”

कार्यक्रमको सो अवसरमा त्रिवेणीका निवर्तमान गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले अब कार्यक्रम भनेको जनताको जीवन स्तर उकास्ने तिर लाग्नुपर्ने सुझाव राखेका थिए । सडक, खानेपानी, स्वास्थ्य तथा विद्यालय भवन लगायतका पूर्वाधारहरु त्रिवेणी तुलनात्मक रुपमा बनेको बताउदै त्यसको उपयोगिता र स्तरउन्नती तर्फ ध्यान दिदै आर्थिक सम्पन्नता तिर ध्यानदिनुपर्ने उनले बताए ।

त्यस्तै, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले जनार्दन शर्माको मार्गदर्शन अनुसार सबै पालिकामा यस्तो कार्यक्रम लागु गर्नेगरी काम अगाडि बढेको बताए । ठोस योजना र कार्यक्रम बनाएर जाने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको रोकालेलेे बताए । साथै उनलेे पहुँचको आधारमा हुने असुन्तलन विकास यसरी तय गरेको योजनाले अन्त्य गर्नेसमेत दावी गरे ।

कार्यक्रममा सुझाव राख्दै आठबिसकोट नगरपालिका निर्वतमान मेयर तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोरख बहादुर केसीले विद्यालयको अवस्था केछ ? सबै बालबालिका स्कुल भर्ना भएका छन् कि छैनन् ? अनि सबै किशोर किशोरीहरले १२ कक्षा पास गरेका छन् कि छैनन् ? वैदेशिक रोजगारीमा जाने, सरकारी जागिर खाने, विभिन्न रोजगार तथा स्वरोजगार, किसान तथा उत्पादन लगायतको तथ्यांक संकलन गरेर मात्रै योजना निर्माण गर्नुपर्ने उनले सुझाव राखेका थिए ।

कार्यक्रमको समापन गर्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले विकासका कार्यक्रम प्राथमिकरण गरेर काम गरेको बताए । तथ्यांकलाई मिथ्याङ्क नबनाई सहि तथ्यांकलाई संकलन गरेर मात्रै आवश्यकता र विकासको मोडल तयार हुने भएकाले अब लगत्तै सहि तथ्यांक संकलन गरेर पुस्तकका रुपमा प्रकाशन गर्ने र सोही अनुसार प्राथमिकरण गरेर विकास निर्माणका कार्य थालनी गर्ने उनलेे प्रतिबद्धता व्यक्त गरे ।