त्रिवेणीमा बालविकास पाठ्यक्रम तथा कक्षा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुका लागि पाठ्यक्रम तथा व्यवस्थापन सम्बन्धि ८ दिने तालिम सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद विकास शाखाको आयोजनामा माघ १३ देखि माघ २० गतेसम्म त्रिवेणीको सम्रुतुमा तालिम सञ्चालन भएको हो ।

तालिम समापनको अवसरमा गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले समाज र बालबालिकामा केही परिवर्तन होस भनेर गाउँपालिकाले लगानी गरेर तालिमको व्यवस्था गरेकोले सोअनुसार तालिममा सिकेको सीप अनुसार बाद्यालयमा गएर काम गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै आगामी चरणको अनुगमनमा प्रशिक्षार्थी शिक्षिकाहरुले उत्कृष्ट नतिजा दिने विश्वास व्यक्त गरे ।

अध्यक्ष केसीले गाउँपालिकाको ५१ प्रतिशत झण्डै ३० करोड बजेट शिक्षा क्षेत्रमा लगानी भएको उल्लेख गर्दै लगानी अनुसारको नतिजा हुनुपर्ने बताए ।

त्यस्तै, कार्यक्रममा उपाध्यक्ष राजकुमारी रेउले यस्तो क्षमता तथा सीप विकासको लागि थप तालिमको आवश्यकता पर्ने भएकोले जसअनुसार थप तालिमको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै, गाउँपालिका प्रमुख प्रशासकीयअधिकृत प्रेमबहादुर घर्तीले तालिमको माग अनुसार तालिमको व्यवस्थापन गरेकोले सो अनुसार तालिममा उत्साहजनक उपस्थिति रहेर तालिम प्राप्त शिक्षिकाहरुले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै उत्साह जनक उपस्थितिको लागि धन्यवादसमेत दिए ।

कार्यक्रमको अवसरमा गाउँपालिका समाजिक विकास समिति संयोजक रनबहादुर पुनले आत्मसम्मानसहित उत्साहित तवरले काम गर्न प्रशिक्षार्थी शिक्षिकाहरुलाई आग्रह गरे, उनले भने, “तपाईंहरु सम्मानित हो, तपाईंहरु समाजको पहिलो आधार हो र समाज निर्माणको पहिलो जगको जिम्मेवारी तपाईंहरुको भएकोले आत्मसम्मानसहित उत्साहित तवरमा काममा लाग्नु होला।”

“बच्चाको सर्वाङ्ग विकास अनुसार सिकाई तपाईंहरुले नगरेको पाईएकोले यो तालिमबाट त्यसको आधार तयार भएको छ, यसअघि विद्यालयमा आएको बच्चलाई कख लेख्न लगाउनु हुन्थ्यो भने अब तालिमको सिकाई अनुसार बालकको मानसिक तथा शारीरिक विकास अनुसार सिकाई तिर लाग्नु हुनेछ, संयोजक पुनलेे भने।”

तीन वर्षको बच्चालाई लठ्ठी देखाएर सिकाउने बानीको सुधार गरेर अब बच्चाको आनीबानी र शारीरिक विकास अनुसार सिकाउन संयोजक पुनलेे अनुरोध गरे । साथै, प्रति विद्यार्थी ५ सयको दरले कक्षा कोठा व्यवस्थापनको बजेट हुने हुदा सो अनुसार कक्षाको व्यवस्थापनसहित काम गर्नसमेत उनलेे निर्देशन दिए ।

तालिममा गाउँपालिका भित्रका ४५ जना बालविकास शिक्षिका र अन्य तीनजना शिक्षिकासहित ४८ जना प्रशिक्षार्थीको उपस्थिति रहेको शिक्षा शाखा प्रमुख ओविराम रोकाले जानकारी दिए ।

तालिमलाई सुर्खेतको वीरेन्द्रनगर स्थित “सेतो गुराँस बालविकास सेवा”कि निर्देशकी जानकी देवकोटाले मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएकी थिईन भने त्रिवेणी गाउँपालिका-६ स्थित जनचेतना आधारभुत विद्यालयकी बालविकास शिक्षिकसमेत रहेकी निर्मला ओलीले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण गरेकी थिईन ।

यस्तै, प्रशिक्षार्थी माया पुनले समग्र प्रशिक्षार्थीको तर्फबाट कुरा राख्दै, पाठ्यक्रम विनानै बालविकास सञ्चालन गरिरहेको र विगतमा यस्तो तालिम प्राप्त नगरेकोले असहज भएको थियो भने अब सहज हुने बताईन । विभिन्न समयमा शैक्षिक भ्रमण, तालिम र विभिन्न शिक्षण सामाग्री उपलब्ध गराउनसमेत उनले माग गरिन ।

त्यस्तै, अर्की प्रशिक्षार्थी अनुपमा घर्तीले पाठ्यक्रम विना नै बालबालिकालाई अन्धाधुन पठनपाठन गराईरहेकोले अबदेखि बालविकास कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न धेरै सिकेको बताईन ।