त्रिवेणीको आठौं गाउँसभा: नयाँ विद्यालय खोल्न पाउने, राजस्व दर हेरफेर (पूर्णविवरण)

everest kitchen

रुकुम (पश्चिम) । त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम)को आठौं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँसभाले संशोधित आर्थिक ऐन २०७९ तथा संशोधित शिक्षा ऐन २०७९ पास गर्दै गाउँसभा सम्पन्न भएको छ ।

राजश्व परामर्श समिति संयोजक राजकुमारी रेउले संशोधित आर्थिक ऐन २०७९ पेस गरेको ऐन सभाले पास गरेको हो ।  रेउले पेस गरेको संशोधित ऐनमा राजस्व सम्बन्धि हेरफेर गरिएको छ । संशोधित ऐन अनुसार कपडा पेल्ने ट्रेक्टर घुम्ती व्यवसाय, खोटो, कवाडी समान, पर्यटन शुल्क लगायतको राजस्व शुल्कको व्यवस्था गरेको छ ।

त्यस्तै, त्रिवेणीको शिक्षा ऐन संशोधन २०७९ पास भएको छ । समाजिक विकास समिति संयोजक रन बहादुर पुनले पेस गरेको संशोधित ऐनमा  नयाँ बिद्यालय खोल्ने अनुमति दिने, विद्यालय व्यवस्थापन समितिको पदाधिकारीको छनौट सम्बन्धि व्यवस्था, प्रधानाध्यापक सम्बन्धि व्यवस्था लगायतका विषय ऐनमा समावेश भएका छन ।

यस्तै, गाउँसभाले विभिन्न प्रस्तावहरु पनि पास गरेको  छ । आर्थिक विकास समिति संयोजक भद्र सिर्पालीले पेस गरेको ६ वटा योजनाको रकम रकमान्तर गरेर अन्य ६ योजना निर्माण गर्ने प्रस्ताव पास भएको छ । त्यसैगरी , २०७८/७९ को बेरुजु फर्छयौट गर्ने प्रस्ताव पास भएको छ । लेखा समिति संयोजक सुन्दर वली ३ करोड १२ लाख को बेरुजु फछर्यौट गर्न महालेखामा दाखिला गर्ने प्रस्ताव पास गरेको हो  ।

प्रेमबहादुर घर्तीले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/८० अर्धबार्षिक प्रगति विवरण अनुसार चालु खर्च ३१ प्रतिशत र पुजीगत खर्च १३ प्रतिशत भएको उल्लेख गरिएको छ । साथै यो अर्धवार्षिक अवस्थामा ३३ लाख ४३ हजार २०७ रुपैया राजस्व संकलन गरेको छ भने ७५ वटा टुक्रे योजनामध्ये ६७ वटा सम्झौता भएको उल्लेख गरिएको छ ।

गाउँसभा सदस्यहरुले उठाएका सवालहरु: जनताको काम गर्दैगर्दा भात खानसमेत समस्या छ-सदस्य

त्रिवेणी-१ का वडा अध्यक्ष सुन्दर वलीले सार्वजनिक सम्पत्ति सुरक्षा, फोहोरमैला व्यवस्थापन गर्नुपर्ने बताएका छन ।

गाउँसभा सदस्य डम्बरबहादुर खडकाले सदस्य परिचयपत्र समेत उपलब्ध नगराए, अघिल्लो सरकारले लागु गरेको जस्तै पोषाकको एकरुपता हुनुपर्ने, जनताको काममा जाँदा भात खानेसमेतको व्यवस्था गर्न समस्या भएको बताए ।

गाउँसभा सदस्य भुपाल वली सिर्जना वाचन गर्दै पहिलाको सरकारले निर्माण गरेको आयोजनालाई निरन्तरता नभएको, घरमा धारा भएपनि पानी नभएको गुनासो गरे।

शेरबहादुर वलीले विद्यार्थीका पोषाक र खाजाको निरन्तरता नभएको बताए । त्यस्तै उनले, जनताको गुनासो तथा आवश्यकता बारे वडा सदस्यले दैनिक गुनासो प्राप्त गरिरहदा निर्णय गर्ने स्थान कार्यपालिकामा मात्रै भएकोले जनताको सम्पुर्ण गुनासो समेट्न नसकिएको बताए ।

दिपेन्द्र कुमार वलीले शिक्षा ऐन संशोधन बारे बोल्दै अलि व्यापक छलफल गरेरमात्र संशोधन प्रस्ताव ल्याउनुपर्ने बताए । साथै उनले दुई बर्षमा प्रधानाध्यापक फेर्ने कुरा व्यवहारत: नभएको बताए । यस्तै उनले फरक प्रसङ्गमा मर्यादा क्रम अनुसार कार्यक्रम गर्नुपर्ने बताउदै, नेपाली काङ्ग्रेस देशकै ठुलो पार्टी भएकोले गाउँसभा लगायतका कार्यक्रममा काङ्ग्रेसको सम्मानजनक मर्यादा रहनुपर्ने माग गरे  ।

गाउँसभा बोल्ने अतिथिहरुले कसले के भने?

गाउँकोसभाको अवसरमा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसीले तीनतहका सरकार सञ्चालन गर्न स्वत्तता भएपनि संघीय सरकारले निति निर्माण तथा कानुन नबनाउदा सरकार सञ्चालनको बारे केही जटिल भएको उल्लेख गरे ।

प्रत्येक नागरिकले रोजगारी सिर्जना गर्ने गरि गाउँपालिकाले निति निर्माण गरेर उद्योमशिल्लाको विकास गगर्नुपर्ने बताए । त्यसैले उत्पादन र ठिक ढंगको बजारीकरण गर्ने गरि अगाडि बढ्नुपर्ने बताए ।

विशेष अतिथि कर्णाली प्रदेशसभा सदस्य मिलन खडकाले कर्णाली सम्बृद्धी र सुखी कर्णाली निर्माण गर्न प्रत्येक वर्ष १० हजारलाई रोजगारी दिने उद्देश्यमा मुख्यमन्त्री राजकुमार शर्मा लगायतको टिमले निर्णय गरेर अगाडि बढ्दै गरेको बताइन् । आर्थिक उन्नति, सुशासन, विकास बारे आफ्ना विभिन्न कार्ययोजना बारे उनले बोलेकी थिईन् । साथै सांसद खडकाले जनताको अपेक्षा र चुनावी घोषणा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले सभा सञ्चालन र सरकार सञ्चालन बारे सुझाव राखेका थिए ।

शैक्षिक गुणस्तर कसरी बनाउने भन्ने तर्फ ध्यान दिएर कानुन, कार्यविधि वा निर्देशीकाको तयार कसरी गर्ने भन्ने बारे व्यापक छलफल गर्नुपर्ने जरुरी रहेको बताए । कम्तिमा एउटा विद्यालयलाई नमुना आवासीय विद्यालय बनाएर उच्चस्तरीय नतिजा ल्याउन सके गुणस्तरीय शिक्षाको लागि शहर पलायन हुनेहरूले गाउँमै बसेर छोराछोरी पढाउन सक्ने बताए ।

शर्माले जनतालाई सुविधा दिने कुरामा ध्यान दिन जरुरी रहेको बताउदै, जनताको स-साना कुरामा पनि ध्यानदिनुपर्ने बताए ।

गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष निर्मला विष्ट खड्काले पहिलो सरकारले गरेका महत्त्वपूर्ण र जनपक्षीय योजना तथा कार्यक्रमको निरन्तरता दिन आग्रह गरिन । गाउँ-टोल देखि आवश्यकता र जनभावना अनुसार मात्रै काम गर्न आग्रह गर्दै, निवर्तमान जनप्रतिनिधि र हाल निर्वाचित जनप्रतिनिधिबीच सहकार्य र अनुभव आदानप्रदान गर्नुपर्ने आवश्यकता हुनपर्ने त्यसतर्फ तालमेल नमिलेकोले आवश्यकता अनुसार वर्तमान गाउँपालिका सरकारलाई सहयोग गर्न आफुहरु तयार रहेको उनले बताईन।

सभालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता हेमन्त खड्काले अनुदानको निगरानी गर्नुपर्ने बताए ।

काङ्ग्रेस नेता थलबहादुर खड्काले जनार्दनको कमान्डमा चुनावमा होमिएको स्मरण गर्दै, सहमति सहकार्यमा रुकुमको विकासमा संगै लाग्नुपर्ने बताए ।

माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले कृषि उपज प्रबर्द्धन गर्नुमा जोड दिए। हामीले उत्पादनको दुध, कीवी, सुन्तलाको उचित मुल्यसहितको बजारीकरण हुनुपर्ने उनले बताए ।

पूर्व जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओलीले विकास निर्माणको लागि साझा तथा एकल सुचिहरु तयार पारेर अगाडि बढ्नुपर्ने बताए ।