सुर्खेत । उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन् । हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ ।
पशुपालन र जडीबुटी यस क्षेत्रको आम्दानीको मुख्य स्रोत हो । सडकको पहुँच नपुगेको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट घोडा, खच्चड र मानिस आफैँले पनि दैनिक उपभोग्य सामग्रीदेखि अन्य निर्माण सामग्री ढुवानी गरेर लिनुपर्ने बाध्यता रहँदै आएको छ । पाँच वर्ष अघिसम्म मध्य डोल्पासम्म घोडा, खच्चडकै सहारामा ढुवानीको काम हुने गर्दथ्यो भने अहिले विस्तार त्यो चलन दुनैसम्म पुगेको पुगेको छ ।
उपल्लो डोल्पामा पशुपालन गर्नु मुख्य कारण नै ढुवानीको आधार तयार गर्नु पनि हो । अग्ला, अग्ला हिमालहरूको बीचमा २७ वटा गाउँ उपल्लो डोल्पामा रहेका छन् । गुम्बा, प्राचीन कालमा निर्माण भएका विभिन्न धर्मसँग सरोकार राख्ने मूर्ति तथा चालचलनदेखि रहनसहन समेत उपल्लो डोल्पाको फरक रहेको छ । गर्मी याममा समेत चिसो नै हुने हिमालको छेउमै रहेका साना साना होचो घरहरूमा यहाँका सर्वसाधारणहरूको जीवन चल्दै आएको छ । यिनै गाउँ र पालिकालाई जोडेर शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज समेत रहेको छ । निकुञ्ज सुरक्षाका लागि स्थापना गरिएको कार्यालय समेत दुनै नजिकै सुलिगाडमा रहेका छन् ।
द्वन्द्वालमा सुरक्षाको कारण देखाउँदै सुलिगाड झरेको निकुञ्ज सुरक्षार्थ अटिएको र निकुञ्ज कार्यालय अहिलेसम्म सुलिगाडमै रहेको छ । उपल्लो डोल्पामा स्थापना भएका पालिकाहरू समेत नाममा मात्र भएका छन् ।
भौतिक रूपमा यहाँका जनप्रतिनिधिहरू छुटफुट मात्रामा बसे पनि कर्मचारी उपल्लो डोल्पामा बस्नु फलामको चिउरा चपाएझैँ हुँदै आएको सर्वसाधारणहरू बताउँदै आएको छन् । शे फोक्सुन्डो गाउँपालिकामा अन्य दुई पालिकाभन्दा अलि फरक रहेको छ । यहाँका जनप्रतिनिधि देखि कर्मचारीहरू केही खटिने गरेको पाइएको छ ।
सेवा प्रवाहमा सबै भन्दा छार्का ताङसोङ गाउँपालिकामा कर्मचारीहरू स्थानीयवासीको सम्पर्कमा जान असमर्थ हुँदै आएका छन् । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत अधिकांश समय सदरमुकाम दुनै, सुर्खेत र काठमाडौँमा समय बिताउने गरेको पालिकाका अध्यक्ष सेनांङ गुरुङले बताए ।
सेवाग्राहीले फोन गरे पनि फोन नै नउठाउने अधिकृतको रूपमा यस पालिकाका अमरराज सेजुवाल रहेको पालिकाका अध्यक्षले नै आरोप लगाएका छन् ।
‘पर्यटन, जलस्रोत, पशुपालन र जडीबुटी छार्का ताङसोङको आधार दीर्घकालीन दृष्टिकोण, सुशासन, गरिबी निवारण र रोजगार भन्ने नारा रहेको यो पालिकामा सरकारी सेवा पाउन सर्वसाधारणलाई सास्ती हुने गरेको छ । दुई महिनाअगाडि काठमाडौँ गएका अधिकृत सेजुवाल र पालिकाका कर्मचारीहरू अहिलेसम्म पालिकामा पाइला नटेक्दा सेवा लिने सर्वसाधारणहरू हैरान भएका छन् । त्यस्तै यहाँको स्वास्थ्य सेवा समेत लथालिङ्ग रहेको छ । नाम मात्रका स्वास्थ्य संस्था हुँदा दैनिक आम्चीकै भरमा यस पालिकाको उपचार सेवा सञ्चालन हुँदै आएको छ ।
पालिकामा दरबन्दी रहेका स्वास्थ्यकर्मीहरू सदरमुकाम दुनैदेखि अन्य ठाउँमा व्यक्तिगत काममा व्यस्त हुँदा यहाँका नागरिकले स्वास्थ्य सेवा पाउन नसकेका हुन् । सुरक्षित सुत्केरी तथा गर्भ जाँचको रेकर्ड हेर्ने हो भने यो पालिकाको शून्य रहेको छ । पालिकामा स्वास्थ्यकर्मी नबस्दा सर्वसाधारणले स्वास्थ्य सेवा नपाएका हुन् । भगवानको भरोसामा आम्चीको सहयोगमा सुत्केरी हुने गरेको वडा नम्वर ४ का स्थानीयबासी पालेन बुढाले बताए । कात्तिकदेखि फागुनको अन्तिमसम्म यस पालिकामा सबै खालका खोप सेवा समेत बन्द हुने गर्दछन् । चिसोका कारण देखाउँदै स्वास्थ्यकर्मीहरू व्यक्तिगत काममा लागेपछि सबै खोपहरू बन्द हुने गरेका हुन् ।
जनप्रतिनिधिले कर्मचारीलाई कर्मथलोमा बस्न आग्रह गरे पनि नमान्दा आफूहरू हैरान भएको पालिका अध्यक्ष सेनांङ गुरुङले दुखेसो गरे । डोल्पोबुद्ध गाउँपालिकाको हालत पनि छार्काताङसुङ भन्दा काम छैन । यहाँका प्रमुख प्रशासकीय अधिकृत मोवाइल नम्बरसमेत सधैँ अफ हुन्छ । यदि फोन लागि हाले पनि उठ्न मुस्किल हुने गर्दछ । यहाँको सुत्केरी दर र गर्भवती जाँचको सङ्ख्या समेत जिरो रहेको छ ।
अधिकांश कर्मचारीहरू पालिकामा पाइला नटेकी सदरमुकाम दुनैबाट तलव बुझने गरेको जनप्रतिनिधि नै बताउने गरेका छन् । मंसिरदेखि फागुनसम्म कर्मचारीहरू व्यक्तिगत काममा लागेका पाइन्छ । अन्य समयमा समेत सदरमुकाम बसेर उपल्लो डोल्पा बसेको कागज बनाइ एक मुस्ट हाजिरी लगाउने गरेको पाइन्छ । यहाँका कर्मचारीको निगरानी, अनुगमनदेखि अन्य सेवा प्रवाहको जाँच मूल्याङ्कन कसले गर्ने प्रश्न उठ्दै आएको छ । न्युज कारखाना