३० मिनेटको रुकुम महोत्सव – विपेन उलङगे

everest kitchen

विपेन उलङगे

रुकुम पश्चिममा फागुन २६ बाट आगामी चैत ७ गतेसम्म “रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” संचालन भईरहेको छ । मुसिकोट नगरपालिकाको खंलगा स्थित बराहटाकुरामा महोत्सव सञ्चालित रहेको छ । ‘रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नारा राखेर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम र कला साँस्कृतिक पर्यटन प्रबर्द्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका छन ।

“अ साच्चि” तपाईं उक्त मेलामा जानू भयो त ? स्वास्थ्य प्रतिकुलताका बाबजुद म त उक्त महोत्सव मेला हेर्न पुगे । आफ्नो ठाउँको मेला नजानु पनि भएन । आउनुहोस् मेला घुमौ..

सोमबार दिउँसो ३ बजेतिर मेला अवलोकन गर्न भनेर बराहटाकुरन तिर लागे। मसंग साथिहरु कोही थिएनन् तर प्रवेश द्धारमा पुगेपछि रुकुमका केही पत्रकार साथिहरु मेला प्रवेश गर्दै हुनुहुन्थ्यो । उहाँहरुसंग भने आयोजकले व्यवस्थापन गरेको प्रवेशपत्र रहेछ र उहाँहरु नि:शुल्क प्रवेश पाउनु भयो । मलाई लाग्यो पत्रकारलाई नि:शुल्क होकी भनेर मसंग सुचना विभागले उपलब्ध गराएको पत्रकार परिचयपत्र थियो, त्यहीँ देखाए तर त्यो मान्य नहुने भन्दै गेटमा बसेका कर्मचारीहरुले भित्तामा प्रिन्ट पेपरमा हातले लेखिएको “कार्ड निशेध” लेखेको पर्चा देखाए । आखिर आयोजकले धेरै आर्थिक जोखिम उठाएर महोत्सव आयोजना गर्छन् एकसय रुपैयाँ पत्रकारले तिर्न पनि आनाकानी किन गर्नु ! छेवैको टिकट घरमा टिकट ल्याएर च्यातिदिनु भाई म अलि हिड्न सक्दैन भनेर एकसय रुपैयाँ त्यहीँका एकजना कर्मचारीलाई दिएपछि, ती कर्मचारी भाईले सहयोग गरे ।

रुकुम महोत्सवमा मात्रै हैन म काठमाडौका सार्वजनिक स्थानका पार्किङ, अन्य महोत्सव, मेलाहरुमा पनि नि:शुल्क प्रवेश गर्दिन । तर रुकुमको यो मेलामा भने धेरैले नेता, जनप्रतिनिधि, पत्रकार, प्रहरी, कर्मचारी लगायतको बहानामा नि:शुल्क प्रवेश गर्दै आईरहेका देखिन्थे तर कतिपय आयोजकको पहुँच बाहिरकाहरुको भने प्रयास सफल हुन सक्ने रहेनछ ।

कार्यक्रम स्थल प्रवेशको सुरुदेखि सांस्कृतिक कार्यक्रमको मञ्चसम्म पुग्दा करिब एक सयबढी ब्यापारीक स्टलहरु राखिएका रहेछन् । स्टल भित्र हिड्दा भने काठमाडौको भृकुटीमण्डप भित्रका पसलहरुमा हिडेको महशुस हुने रहेछ, भृकुटीमण्डप भित्रका जस्तै विभिन्न व्यपारीक पसलहरु अर्थात स्टलहरु त्यहाँ रहेछन् ।

रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव भनिएपनि त्यहाँका सबै जसो स्टलहरु दाङ, बुटवल लगायतका स्थानहरुबाट आएका विभिन्न व्यापारीहरुको कपडा तथा जुत्ताचप्पल पसल, बच्चाबच्चीका खेलौना पसल, फेसनेवल पसलहरु, नमकिन पसल, खाजा नास्ता, जुस पसलहरु रहेछन् । यद्यपि उक्त मेलामा मैले भेटअनुसार एउटा कृषि औजार स्टल पनि रहेछ, उक्त स्टलपनि नवलपरासीबाट आएको रहेछ ।

साचो अर्थमा भन्ने हो भने मेलमा राखिएका प्रदर्शनीहरु कृषि, पर्यटन र स्थानीय सांस्कृतिक केन्द्रित भने खासै छैनन् । तर मेलाको मुख्य आकर्षण भने सांस्कृतिक कार्यक्रम रहेको छ । सांस्कृतिक कार्यक्रमको लागि आयोजकले दिनदिनै फरकफरक विधाका फरकफरक कलाकारहरुलाई बोलाएर प्रस्तुति दिदै आएको छ । कृषि र पर्यटन सम्बन्धि केही थान पोस्टहरु झुन्ड्याएपनि त्यती व्यवस्थित भने गरिएको रहेनछ । त्यसबाहेक मेलाका अन्य आकर्षण पनि छन् त्यसको लागि भने सबैले मेला आवलोकन गरौँ । यस्तो मेला रुकुममा बारम्बार लाग्ने कुरै छैन । यो महोत्सव पनि धेरै समयपछि लागेको हो ।

सोमबार पनि कार्यक्रममा दोहोरी गायिका टीका सानु, लोकदोहोरी गायक मानसिङ खडका लगायतका कालाकारहरुले प्रस्तुति दिईरहेका थिए । आयोक आफै पनि कलाकारीता क्षेत्रको भएकाले आयोजक भित्रमा पनि विभिन्न कलाकारहरु रहेकाले उनीहरूले पनि प्रस्तुति दिदै आएका रहेछन् ।

महोत्सव स्थलभरी करिब तीस मिनेटमा पुर्ण रुपमा अवलोकन गर्न सकिने रहेछ । मैले ३० मिनेटमा ३ वटा सांस्कृतिक प्रस्तुति हेरेर धेरथोर किनमेल पनि गरि सकेको थिए । सो क्रममा व्यापारीसंग भलाकुसारी नहुने कुरै भएन । व्यापारीसंगको भलाकुसारीमा भने व्यापारीहरुले व्यापार गरेर यतै खानसमेत नपुग्ने गुनासो गरे । उनीहरूले एउटा स्टलको भाडा २५ हजार ५०० भएको र यो अन्य मेलाको भन्दा महङ्गो भएको र आयोजकको व्यवस्थापन पनि फितलो भएको गुनासो गरे । उनीहरूको भनाइ अनुसार कुनै केहीको पनि व्यापार र व्यवस्थापन नै छैन ।

दाङबाट बलाङकेट लगायतका लत्ताकपडाको स्टल ल्याएर आएका सुरेन्द्र प्याकुरेलले भने मलाई नै तानेर गाउँमा अलि प्रचार गरिदिन आग्रह गर्दै भने “हामी आएको ४ दिन भयो चार दिनमा जन्मा १० हजारको मात्रै व्यापार भयो, ५० हजार गाडी भाडा तीनवटा स्टालको ७५ हजार भाडा गरेर एकलाख २५ हजार त भाडैमा सकियो अब यत्रो पैसा उठाउन त महोत्सवभरीमा सबै समान बिक्री गरे पनि उठ्दैन । त्यहीँ पनि अलि प्रचारप्रसार गर्नु पर्यो दाई ।”

त्यस्तै दाङ तुल्सीपुरबाट बच्चाबच्चीको विभिन्न खेलौना र फेसनवलको स्टल लिएर आएकी पवित्रा खड्काले अहिलेसम्म ५/७ हजार पनि मुस्किल व्यापार भएको र अत्याधिक धुवा धुलोले समानहरु डिस्प्ले गर्नसमेत नपाएको गुनासो गरिन ।

त्यस्तै एकठाउँमा भेला भएर गफ गर्दै बसेका व्यापारीहरुको एक समुहले मसंग आयोजकको तिब्र आलोचना गरे । उनीहरूले एकातर्फ व्यापार नभएको गुनासो गरे भने धुवाधुलो नियन्त्रण गर्न, फोहोर व्यवस्थापन तर्फ आयोजकले ध्यान नदिदा आफुहरुको समान बिग्रिएकोसमेत बताए । उनीहरूमध्ये धेरैले स्टल भाडा महङ्गो भएको गुनासो गरे भने कतिपयले रुकुम ठाउँ र मान्छे राम्रा भएपनि आयोजकको फितलो व्यवस्थापनको कारण अब कहिलै यस्तो मेलाको लागि रुकुम नआउने समेत बताए ।

अब उनीहरूको मात्रै गुनासो सुनेर मात्रै भएन मैले पनि केही सान्त्वना दिने उद्देश्यले आयोजकले ठुलो आर्थिक भार थापेर काठमाडौंबाट कलाकारहरु ल्याएर महोत्सव गर्दैछ स्टल भाडा त उठाउनै पर्यो अनि अर्को कुरा महोत्सवको सुरुवातीमा मान्छेहरु नआएपनि बिस्तारै मान्छेहरु बढ्न सक्छन् । विस्तारै व्यापार बढ्ने कुरामा उनीहरू आस्वस्त भएनि स्टल भाडा भने घटाउनै पर्नेमा उनीहरु थिए, उनीहरूको तर्क थियो: “२५ लाख बढी त स्टल भाडा मात्रै हुन्छ, दैनिक हजारौंले काटेको एकसय दरको टिकेटको रकम र विभिन्न निकायको आर्थिक सहयोगबाट आयोजकले थुप्रै कमाउछ ।”

माथि उल्लेखित विषयमा आयोजकका साथिहरुसंग कुरा गर्ने मन त थियो । कुरा गर्ने प्रयास पनि गरेको तर औपचारीक रुपमा आयोजकका साथिहरुले मैले हात तेस्र्याएपछि हात मिलाउनु भयो तर समग्रमा ठिक छ भन्नेमात्रै उहाँहरुको प्रतिक्रिया थियो , थकित मुद्रामा देखिएका साथिहरुलाई धेरै केही सोधिएन ।

सोमबार मैले स्वास्थ्य प्रतिकुलताका बाबजुद ३० मिनेटमात्रै विताएपनि, मैले महोत्सवमा धेरै कुराको रमाइलो अनि ज्ञान लिए । अर्को पटक पनि स-परिवार महोत्सव हेर्ने जानेनैछु । तपाईंहरु पनि जानू होला, अब रुकुम महोत्सवमा दाङ, सल्यान, काठमाडौं लगायत जिल्ला बाहिरबाट मेला अवलोकन गर्न आउने कुनै आकर्षण नभएपनि देशका चर्चित कलाकारहरुको प्रस्तुति हेर्न र अलि सस्तोमा किनमेल त गर्न पर्छनी! सस्तोको लागि भने बार्गेनिङ गर्न सक्नुपर्छ है ..

अन्तमा आयोजकलाई धन्यवाद, व्यापारीहरु साथिहरुलाई शुभकामना, अनि महोत्सवमा स्थानीय केही आकर्षक र स्टलहरुको व्यवस्था गरियोस् , बरु नि:शुल्क नै सही…सुभम

#ब्लग